नयाँदिल्ली । भारत सरकारले दुईवटा कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको छ।
औषधि नियन्त्रण महानिर्देशनालयले आइतबार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको ‘कोभ्याक्सिन’लाई स्वीकृति दिएको हो।
महानिर्देशनालयले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै दुई खोपका सम्बन्धमा कम्पनीहरूले प्रस्तुत गरेको तथ्यांक र आवश्यक विवरणहरूको अध्ययनपछि दुवैलाई आपत्कालीन प्रयोगका लागि अन्तिम स्वीकृति दिने निर्णय गरिएको जनाएको छ।
कोभिसिल्डको उत्पादन सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) र कोभ्याक्सिनको उत्पादन हैदराबादस्थित भारत बायोटेकले गरिरहेको छ।
यसअघि शुक्रबार र शनिबार भारत सरकारको केन्द्रीय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गतको विषयगत विज्ञ समितिले कोभिसिल्ड र कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको थियो।
सोही सिफारिसका आधारमा आइतबार भारतको औषधि नियन्त्रण महानिर्देशनालयले अनुमति दिने निर्णय गरेको हो। महानिर्देशनालयको निर्णयसँगै भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगको औपचारिक बाटो खुलेको छ।
भारतमा दुईवटा खोपले अनुमति पाएसँगै नेपालमा पनि चाँडै खोप उपलब्ध हुने आशा बढेर गएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
