काठमाडौँ । ४० वर्ष काटेपछि महिलाको अण्डाशयमा डिम्बको संख्या घट्दै जान्छ । र, केही वर्षपछि डिम्ब नै रित्तिन्छ । डिम्ब रित्तिनु भनेको महिनावारी सुक्नु हो । एस्ट्रोजिन र प्रवजेस्टेरोन हर्मोनको उत्पादन रोकिएपछि महिनावारी पूर्ण रूपमा बन्द हुन्छ । नेपाली महिलाको महिनावारी सुक्ने औसत उमेर ४७ वर्ष हो । महिनावारी सुक्ने प्रक्रियामा रहँदा या सुकेपछि महिलामा विभिन्न समस्या निम्तिने गर्छ ।
समस्या
१. महिनावारी सुक्ने समयमा शरीरमा शक्ति नभएजस्तो, थाकाइ लाग्ने, जिउ तात्ने, पोल्ने, औडाहा हुने, चिसो पसिना आउने, राति निद्रा नपर्ने, अरूसँग बोल्न झिँजो लाग्ने, चिडचिडापन हुने र डिप्रेसनसमेत हुन सक्ने समस्या निम्तिन्छन् ।
२. यो समयमा एस्ट्रोजिन हर्मोनको कमी हुने भएकाले शरीरका सबै अंगलाई असर गरेको हुन्छ । हाड तथा जोर्नी खिइने र भाँचिने समस्या पनि निम्तिन सक्छ । एस्ट्रोजिन हर्मोनको कमीले गर्दा ३५–४० वर्षपछि महिलामा हाड खिइने प्रक्रिया तुलनात्मक रूपमा पुरुषभन्दा छिटो हुन्छ । यसकारण महिनावारी सुकेका महिलामा हाडजोर्नी खिइने समस्या बढी हुन्छ ।
३. हर्मोनको कमीकै कारण ढाड दुख्ने, जोर्नी दुख्ने, मेरुदण्डको हाड खिइएर नसा च्यापिने भएर हातखुट्टा झमझमाउनेलगायतका समस्या पनि देखिन सक्छन् ।
४.एस्ट्रोजिन हर्मोनको कमीले महिलामा मुटुको समस्या देखिने, बिर्सने समस्या हुने तथा छाला सुक्खा हुनेजस्ता समस्यासमेत देखिन्छन् ।
५. महिनावारी सुकेसँगै हुने हर्मोनहरूको कमीले प्रजनन र मूत्र प्रणालीमा अनेक समस्या देखिन्छन् । योनी सुक्खा हुने, योनीको बाहिर चिलाउने तथा पोल्ने समस्या हुन सक्छ । महिलामा यौनेच्छा पनि कम भएर जान्छ । यौनी सुक्खा हुने भएकाले यौनसम्पर्कका वेला दुखाइ हुन्छ ।
६. शरीरका तन्तु तन्काउन पनि एस्ट्रोजिन हर्मोनको भूमिका हुन्छ । यो हर्मोनको कमी भएपछि पाठेघर तथा पिसाबथैली आफ्नो स्थानमा अड्काएर राख्ने तन्तु पनि खुकुला तथा कमजोर हुन्छन् । पिसाबथैली र पाठेघर आफ्नो ठाउँबाट तल खस्ने सम्भावना बढी हुन्छ । पिसाबथैली आफ्नो ठाँउबाट खस्केपछि हाँस्दा, खोक्दा, हाछ्युँ गर्दा तथा सामान उचाल्दा पिसाब झर्ने, पिसाब रोक्न नसकिने, राति धेरैपटक पिसाब फेर्न उठ्नुपर्ने, पिसाबथैलीमा पटक–पटक संक्रमण भइराख्ने हुन सक्छ । कतिपय महिलामा पिसाब नै रोकिने समस्या पनि हुन सक्छ ।
हाडजोर्नी खिइन नदिन खानुहोस् यस्ता खाना
सन्तुलित आहार
हड्डीलाई स्वस्थ राख्न क्याल्सियम, भिटामिन डी र सप्लिमेन्ट आवश्यक हुन्छ । तसर्थ, यी पौष्टिक तत्व पाइने पदार्थ नियमित खाने गरौँ ।
भिटामिन डी
भिटामिन डीको कमीका कारण हड्डी कमजोर हुने हुन्छ । साथै, गर्भवती महिला र बच्चामा नकारात्मक असर पर्ने भएकाले खानामा अनिवार्य भिटामिन डी समावेश गर्नुपर्छ । यसबाहेक बिहानको घाम ताप्नुपर्छ । किनकि, कलिलो घाम भिटामिन डीको राम्रो स्रोत हो ।
सक्रिय जीवन
विलासी भएर सधैँ निष्क्रिय जीवनशैली अपनाउँदा हाडजोर्नीमा समस्या पैदा हुन्छ । तसर्थ, दैनिक व्यायाम, पैदल यात्रा गर्ने गर्नुपर्छ । बिहान उठ्नेबित्तिकै तन्किने गर्नाले समेत शरीर सन्तुलनमा रहन मद्दत पु(याउँछ ।
सावधानी अपनाउने
काम गर्दा, घरमै बस्दा वा अन्य विविध क्रियाकलाप गर्दा कहिलेकाहीँ खुट्टा मर्किने, जोर्नी दुख्ने आदि हुने गर्छ । भन्नेबित्तिकै उपचारका लागि चिकित्सककहाँ पुग्न गाह्रो हुन्छ । यस्तो अवस्थामा आफैँले सामान्य घरेलु उपचार गरेर समस्याबाट बच्न सकिन्छ । बरफपानीले सेक्ने गर्नुपर्छ । जसले चोट लागेको ठाउँमा सुन्निन दिँदैन ।
समाधान
महिनावारी सुक्ने महिलामा शरीर तात्ने, चिसो पसिना आउने तथा निद्रा नपर्ने समस्याले सबैभन्दा बढी दुःख दिने गर्छ । यस्तो अवस्थामा चिसो पानीले नुहाउने, आफूलाई सकेसम्म व्यस्त राख्ने, योग तथा व्यायाम गर्ने गर्नुपर्छ । त्यस्तै, तौल बढी छ भने पनि त्यसलाई घटाउने प्रयास गर्नुपर्छ । धूम्रपान तथा मध्यपानबाट टाढा रहनुपर्छ । यस्ता सजगता अपनाएमा यस्तो समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
