एजेन्सी । द्वन्द्वग्रस्त मुलुक इथियोपियामा आगामी जुन महिनामा गर्ने गरी संसदीय निर्वाचनको घोषणा भएको छ।
निर्वाचन आयोगले अर्को बर्षको जुन ५ तारिखका दिन निर्वाचन गर्नेगरी शुक्रबार निर्वाचनको मिति घोषणा गरेको अधिकारीहरूले जनाएका छन्।
सन् २०२० मै निर्वाचन गर्ने तालिका भए पनि कोरोनाभाइरसको महामारीका कारण अहिले निर्वाचन हुन नसकेर अर्को वर्ष गर्ने तय भएको हो।
त्यसैगरी, देशका विभिन्न ठाउँमा भएका हिंसात्मक घटना र द्वन्द्वका कारण पनि निर्वाचन पछाडिका लागि सारिएको जनाइएको छ।
इथियोपियामा दुई दिनमा भएका सशस्त्र झडपमा कम्तीमा १०० व्यक्तिको मृत्यु भएको राष्ट्रिय अधिकारवादी समूहहरूले बताएका थिए।
बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरेको इथियोपियाली मानव अधिकार आयोगले जनाएको थियो।
मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
