काठमाडौँ । कोभिड–१९ का कारण यो हप्ता थप छ जना गैर आवासीय नेपालीको ज्यान गएको छ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या दुई सय ९९ पुगेको छ। अहिलेसम्म विभिन्न १९ देशमा रहेका नेपालीको ज्यान गएको हो।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो हप्ता साउदी अरबमा चार, पोर्चुगलमा एक र यूकेमा एक नेपालीको कोरोना भाइरसका कारण ज्यान गएको हो।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो हप्ता जापान, यूके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ।
शनिबार साँझसम्म विभिन्न ४५ देशमा ४७ हजार पाँच सय ८३ गैरआवासीय नेपाली सङ्क्रमित भएकामा हालसम्म ४३ हजार ५७४ कोरोना सङ्क्रमणबाट मुक्त भएका हुन्। यो कूल सङ्क्रमितमध्येको ९१ प्रतिशत रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
