एजेन्सी । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किंग्ससँग पराजित भएको छ ।
दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो।
कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
रविन्द्र जडेजा ३१ रनमा अविजित रहदा साम करण १३ रनमा अविजित रहे । अन्तिम ओभरमा जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईलाई जिताएका हुन् ।
जितसँगै चेन्नईले १३ खेलमा १० अंक जोडेको छ । चेन्नई तालिकाको पुछारमा रहेको छ।
कोलकाताले १३ खेलमा १२ अंक जोडेको छ। कोलकाता पाँचौं स्थानमा रहेको छ । हारसँगै कोलकाताको प्लेअफ यात्रा अनिश्चित भएको छ।
कोलकाताले लिगको बाँकी एक खेल जिते पनि अरू टोलीको अंक तथा रनरेटका आधारमा मात्रै उसको प्ले अफ यात्राको निधो हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
