काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले दशैं भत्ता बापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले एक बिज्ञप्ती जारी गर्दै नेपाल सरकारले नेपालीहरुको महान पर्व बडा दशैंको उपलक्ष्यमा आफूहरुलाई उपलब्ध गराएको दशैं भत्ता फिर्ता गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
‘देशभर कोरोना भाइरस महामारीको बिषम परिस्थितिमा आम नेपालीले अभाव, पिडा र कठिनाई भोगी रहेकोले जनप्रतिनिधिलाई दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक नभएको भन्दै नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराएको भत्ता फिर्ता गर्ने निर्णय गरेको छ’, बिज्ञप्तिमा उल्लेख छ ।
उक्त फिर्ता गरिएको रकम नेपाल सरकारले स्थापना गरेको ‘‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’’मा जम्मा गर्न निर्णय समेत गरेको छ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभा र प्रतिनिधि सभामा गरी नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका ६७ जना सांसदहरु रहेका छन् ।
जसको एकमुष्ट हिसाबमा दशैं खर्च बापतको रकम रु. ४३ लाख २० हजार ८ सय १० हुन जान्छ । काँग्रेसको यो निर्णय सँगै अब उक्त रकम नेपाल सरकारको कोरोना उपचार कोषमा जम्मा हुने भएको छ ।
यसअघि, नेपाली काँग्रेसका केहि सांसदहरुले फिर्ता गर्ने निर्णय गरेपछि नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आफ्नो दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुको रकम फिर्ता गर्न निर्देशन दिएका थिए ।
यसअघि नेपाली काँँग्रेसले गत चैत्र ११ गते पनि उक्त सरकारी कोषमा आफ्ना सांसदहरुको १५ दिन बराबरको तलब दिएको थियो । काँग्रेस बाहेक प्रमुख सत्तारुढ दलका केहि सांसदले भत्ता फिर्ता गर्ने निर्णय गरेपनि पार्टीको आधिकारीक निर्णय भने हालसम्म आएको छैन् ।
यस्तै, सर्वोच्च अदालतको निर्णय सरकारले पनि नमान्ने हो भने अरु कसले मान्लान् ? भन्दै काँग्रेसले प्रश्न समेत गरेको छ । सर्वोच्च अदालतले कोरोना भाइरससँग सम्बन्धित उपचारलाई निःशुल्क गर्न आदेश दिएको भएपनि सरकारले सर्वोच्चको निर्णयलाई लत्याउँदै कोरोना उपचारलाई निःशुल्क गर्न नसक्ने स्वास्थ्य मन्त्रालयले बताउँदै आएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
