ललितकलामा विश्व रेकर्डको तयारी

काठमाडौँ । ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा नेपाली कलाकारहरु जुटेका छन्।

अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लूएस) नेपालको अगुवाइमा विश्व अभिलेख राख्ने योजनाका साथ १०० घण्टा (चार दिन चार रात र चार घण्टा) लगातार ‘अनलाइन कला कार्यशाला’ आयोजना गर्न लागिएको हो।

Advertisement

समाजले पत्रकार सम्मेलन गरी कार्यशालाबारे जानकारी गराएको हो । यसअघि ७२ घण्टा कार्यशाला आयोजना भएको अभिलेख छ।

कोभिड १९ को सङ्क्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आह्वान गर्दै यही कात्तिक २३, २४, २५ र २६ गते ७२ कलाकारको सहभागितामा १०० घण्टे ‘अनलाइन कला कार्यशाला’ आयोजना हुने आइडब्लूएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए ।

उनले कार्यशालाबारे गिनिज बुक अफ वर्ल्ड रेकर्डसँग पत्राचारको काम भइरहेको बताए । यस कार्यक्रमले नेपाली ललितकला र त्यसमा काम गर्ने कलाकारलाई विश्वसामु चिनाउने र नेपाली कलाको शिर ठाडो पार्ने विश्वास लिइएको छ ।

यसका लागि नेपाली कलाकार छनोट भइसकेको र आवश्यक तयारी सुरु भएको आइडब्लूएस नेपालका सचिव केशवराज खनालले जानकारी दिए । कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडियो प्रदर्शनीसमेत गरिनेछ।

कला समीक्षक रमेश खनालले १०० घण्टा लामो कला कार्यशालाले नेपालको गरिमा बढाउने विश्वास व्यक्त गरे ।

More News last news
Loading...