भारतका प्रधानसेनापति नरवाणे नेपाल आउने

काठमाडौँ । भारतका प्रधानसेनापति एम। एस। नरवाणे नेपाल आउने भएका छन्। उनी कात्तिक महिनाभित्र नेपाल आउने बुझिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन्। यसको मिति भने टुंगो नलागेको नेपाली सेनाले जनाएको छ।

Advertisement

नेपाली सेनाका प्रवक्ता सहायरथी सन्तोषवल्लभ पौड्यालले भारतका सेनापति नरवाणेको भ्रमण प्रक्रियाको पुनः थालनी भएको बताए। उनले भने, मिति टुंगो लाग्न बाँकी छ।

२० माघ २०७६ मा मन्त्रिपरिषद्को बैठकले जनरल नरवाणेलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय भएको थियो।

नेपाली सेनाले त्यतिबेला प्रक्रिया बढाएकोमा कोरोना भाइरसको जोखिमका कारण रोकिएको थियो । भ्रमण प्रक्रियालाई सेनाले पुनः थालनी गरेको छ।

नेपाल र भारतबीच सीमा समस्या बल्झिएको अवस्थाबीच नरवाणेको भ्रमण हुन लागेको हो। कालापानीको विषयमा जनरल नरवाणेले दिएको अभिव्यक्ति विवादमा परेको थियो। दुई देशबीच बलियो सैन्य सम्बन्ध छ। एक अर्को देशको सेनापति मानार्थ प्रधानसेनापति रहने प्रचलन रहँदै आएको छ।

More News last news
Loading...