काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना नगरेका कारण नेपालका मन्त्रीसहित उच्च ओहदामा रहेका व्यक्तिहरु कोरोना भाइरसको सिकार बन्न पुगेका बताएको छ।
उच्च सुरक्षा सतर्कता अपनाएर समाजलाई पनि सही सन्देश दिनुपर्ने व्यक्तिहरुले नै जनस्वास्थ्य मापदण्ड पालना नगर्दा आफै पनि संक्रमित भएर जनतामा नराम्रो सन्देश अभिव्यक्त भएको मन्त्रालयले बताएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनस्वास्थ्य मापदण्डको पालना नगरेका कारण भिआइपीहरु कोरोना संक्रमणको शिकार बनेको बताए।
जनस्वास्थ्य मापदण्डको पालना गरेर कोरोना संक्रमणले छुने कुनै सम्भावना नहुने उनले बताए। पछिल्लो दुई दिनमा नेपालका दुई मन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना पुष्टि भएको हो भने आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि कोरोना संक्रमित भएका थिए। यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका ७० जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
