‘काठमाडौँ १४ का योजनाः खानेपानी देखि करिडोरसम्म, धमाधम कोरोना टेष्ट, रोकिएन विकास निर्माण’
कोरोनामा पनि विकासनिर्माण धमाधम
काठमाडौँ । विश्वसँगै नेपाल पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपाल पनि प्रभावित छ । नेपालमा दिनप्रतिदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । गत चैत्र ११ गतेबाट विभिन्न चरणमा भएको लकडाउन अहिले खुलेको छ । काठमाडौँ उपत्यकामा अहिले पनि जोर बिजोरमा सवारी साधन चलिरहेका छन् । तर कोरोना संक्रमण दर भने नेपाल र अझ काठमाडौँ उपत्यकामा ह्वात्तै बढेको छ । कोरोनाको संक्रमणका बेला वडा स्तरबाटै कसरी काम भइरहेको छ ? विकास योजना कसरी चलेका छन् । महिला नेतृत्वले कस्ता काम गरेका छन् । समस्या के के छन् ? भन्ने विषयमा काठमाडौँ महानगरपालिका-१४ की वडाध्यक्ष शोभा सापकोटासँग गरिएको कुराकानीको संपादित अंश ।
२ हजार भन्दा बढीको कन्ट्रायाक ट्रेसिङ
काठमाडौँ महानगरपालिका १४ नम्बर वडाले अहिलेसम्म दुई हजार भन्दा बढी नागरिकको कन्ट्रायाक ट्रेसिङ गराएको छ । वडाले आफ्नै पहलमा वडामै ल्याएर अहिलेसम्म ९ पटक कन्ट्रायाक ट्रेसिङ गराइसकेको छ।
वडामा हाल (मंगलबार) दिउँसो) सम्म ६ सय १० जना कोरोना भाइरसबाट संक्रमित भईसकेका छन् । संक्रमित मध्ये करिब दुई सय जना होम आइशोलेसनमा रहेका छन् भने ३० जना उपत्यकाका विभिन्न अस्पतालमा रहेका छन् । वडाभित्र संक्रमित भएका मध्ये झण्डै ४०० जना निको भएर घर फर्किसकेका छन् भने तीन जना संक्रमितको ज्यान गएको छ।
वडाबाटै १० हजार बढीलाई राहात
काठमाडौँ महानगरपालिका–१४ ले कोरोना भाइरसका कारण गरिएको लकडाउनसँगै पहिलो चरणमा करिब १० हजार बढी परिवारलाई राहात वितरण गरेको छ । गत चैत्र ११ गतेबाट भएको लकडाउनसँगै वडाले गरिखाने वर्ग, हुँदा खानेलगायत समस्यामा परेकाहरुलाई राहात वितरण गरेको हो। नागरिकलाई तत्काल चाहिने दाल, चामल, तेल, नुन, मसला, चाउचाउ, चिउरा लगायतका अत्यावश्यक खाद्य सामाग्री वितरण गरेको हो ।
होम आइशोलेसन बनाउँदा होटलहरुलाई केही राहात
लकडाउनसँगै पूर्ण रुपमा ठप्प भएको होटल व्यवसाय पछिल्लो सरकारको निर्णयसँगै खुल्न थालेका छन् । सरकार र स्थानीय तहको प्रयासमा अहिले काठमाडौँ त्यसमा पनि कलंकी क्षेत्रका होटलहरु होम आइशोलेसन बनेका छन् । लामो समय बन्द भएका होटलमा बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुलाई होटल आइशोलेसनको रुपमा राख्दा केही न केही राहात थपिएको वडाध्यक्ष रापकोटा बताउँछिन् ।
वडाध्यक्ष सापकोटा भन्छिन, “कोरोनाको महामारीबाट भएको क्षतिको कुनै आंकलन गर्नसक्ने अवस्था छैन । हाम्रो वडामा पनि ठुला ठुला होटल व्यवसाय छन्, कल कारखाना र अन्य धेरै प्रकारका व्यवसाय छन् । यो समयमा ति सबै भन्द भए । तर पछिल्लो समय हामीले पहल गरेर यस क्षेत्रका केही होटलहरुलाई होम आइशोलेसन बनाएका छौँ । जसका कारण होटल व्यवसायीलाई केही न केही राहात मिलेको छ । अन्य क्षेत्रमा पनि हामीले के कसरी सहयोग गर्न सक्छौँ हामी गर्न तयार छौँ।”
वडाध्यक्षका अनुसार, वडाले व्यवसाय र सम्पत्ति करलाई श्रावणबाट बढाएर पुस–माघसम्मका लागि छुट दिइएको छ भने फाइन लिने योजना छैन । त्यस्तै कसैले घरबहाल कर नलिएको भए सो को लिखित जानकारी दिएमा उनीहरुलाई वर्षभरीकै घर बहाल कर लिने छैन।
महिलाको नेतृत्व विकासदेखि कौसी खेती तालिमसम्म
काठमाडौँ १४ को सक्रियतामा महिलाका लागि नेतृत्व विकासदेखि पछिल्लो समय कौसी खेती तालिमसम्म दिने काम गरेको छ । पछिल्लो ७ महिना कोरोना भाइरस र लकडाउनका कारण धेरै कार्यक्रमहरु गर्न नसकेपछि महिलाका क्षेत्रमा धेरै काम भएका वडाध्यक्ष सापकोटाको दावी छ।
वडाध्यक्ष सापकोटा भन्छिन्, ‘सुरुमा महिलाका लागि उद्घोषण तालिम दियौँ, जसका कारण अहिले वडाधा धेरै महिलाहरुले आफ्ना कुरा समाजमा राख्न सक्ने हुनुभएको छ । अर्को हामीले पुरुष सामान्यतया केही न केही काममा जाने तर घरमा महिला काम बिहिन हुने फुर्सदको समय कौसी खेती गर्न सकिन्छ भनेर हामीले कौसी खेतीका लागि तालिम दियौँ । अहिले वडाका धेरै महिलाहरुले कौसी खेती गर्नुभएको छ।’
यस्तै, ‘लकडाउन सुरु भएसँगै वडाले हाइजेनिक खाजाका लागि पर्याप्त मात्रामा बेकरी तालिम पनि दियौँ । जसमा बेकरी मात्रै नभएर कुनै पनि खाजा, खाना कसरी बनाउने भन्ने कुराहरु पनि सिकाइयो । जसका कारण कोरोनाका बेला घर भित्रै बस्नुपर्ने अवस्थामा घरमै तरकारी फले, बेकरी आइटम बने त्यसले मानिसलाई बाहिर निस्कनुपर्ने अवस्था केही न केही मात्रामा कम भयो,’ वडाध्यक्ष सापकोटा भन्छिन् ।
यस्तै वडाले व्युटिपार्लर लालिम, फेबरिक माला बनाउने तालिम, डल बनाउने तालिम, अचार बनाउने तालिम, पोते माला, धागो डोरी, स्टोनका गरगहना बनाउने तालिम दिएका छौँ ।
काकाकुल भनिने कलंकी आसपासका धेरै क्षेत्रमा पानी
लामो समयदेखि काठमाडौँको काकाकुल क्षेत्र भनेर चिनिएको १४ नम्बर वडाका धेरै ठाउँमा अहिले पानी पुगेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेद्वारहरुसँग पानीको माग गर्ने जनताका माग अहिले धेर थोर पूरा भएका छन् । यस वडाका धेरै ठाउँमा खानेपानीको जोहो भएको छ । स्थानीय तहको अधिकतम प्रयासमा संघीय सांसद् कृष्ण गोपाल श्रेष्ठ, प्रदेश सांसद् अजयक्रान्ति शाह र मेयर विद्यासुन्दर शाक्यको पहलमा काकाकुल भनेर चिनिएको यस क्षेत्रको खड्गा गाउँमा अहिले पानीको समस्या टरेको छ।
वडाध्यक्ष सापकोटाले भनिन्, “खड्गा गाउँमा २ लाख ७५ हजार लिटरको बोरिङ खनेका छौँ । जसबाट करिब १००० घरधुरीमा पानीको जोहो भएको छ । हामीले त्यस क्षेत्रमा पाइप विस्तारको काम गरेका छौँ । केही समयमै त्याहाँका जनताको घर घरमा धारो आउँछ ।”
त्यस्तै, ‘रिङरोड भित्र पनि पानीको समस्या त्यस्तै थियो । हामीले निर्वाचन जित्नेबित्तकै अधिक मात्रामा भएको पानी चुवाहटलाई नियन्त्रण गयौँ । र अहिले प्राय सबै घरमा धेर थोर पानी आउँछ । फेरि कलंकी क्षेत्रमा सुरुकै फेजमा मेलम्चीको पाइपलाइन बिस्तार नगर्ने भन्ने कुरा आयो । हामीले तत्काल पानीको काकाकुल क्षेत्रमा झन् दोस्रो फेजमा पानी ? भनेर सम्बिन्धित क्षेत्रमा कुरा गयौँ र तत्काल नै पाइप लाइन बिस्तार भयो । अझै कलंकी मन्दिर माथिको क्षेत्रमा पाइप बिच्छाउने काम सुरु हुँदै छ । अब मेलम्चीको पानी चल्ने बित्तिकै यहाँ पनि पानी आउँछ ।’
लकडाउनका बेला पनि रोकिएन विकास निर्माण
कोरोना र लकडाउनका बेला पनि हामीले विकास निर्माणका कामलाई निरन्तरता दियौँ । ठेकेदारलाई थोरै कामदार राखेर काम गर्न लगायौँ । अहिले धेरै विकासनिर्माणका काम पाइपलाइनमा छन् । भर्खरै मात्र बन्धुदत्त (बल्खु–टेकु) मार्गको पिच-ढलानको काम सम्पन्न भएको छ । यो ४१ लाख रुपैयाँको ठेक्का हो । अनि खड्का गाउँमा अहिले धमाधम ढल हाल्ने र बाटो पिच गर्ने काम भइरहेको छ ।
अनि धेरै ठाउँका गोरेटो बाटोलाई उम्बुलेन्स सम्म जान मिल्ने गरी ठुलो बनाउने काम पनि गरेका छौँ । यस्तै नेशनल अस्पताल अगाडिको ट्रायाक पनि हामीले भर्खरै बनायौँ । यस्तै ज्योति गल्लीमा ३०–३५ लाखको योजना थियो त्यो पनि काम सकियो । यो वडामा मात्रै अहिले ७८ ठाउँमा विकासमा काम जारी छन् । यस्तै हाम्रो सुविधासम्पन्न वडा कार्यालय भवन बनिसकेर तयारी अवस्थामा छ । कोरोनाका कारण केही काम पूरा हुन बाँकी छ । दशैँ लगत्तै हामी वडा कार्यालयमा सर्ने छौँ ।
हाम्रै कार्यकालमा करिडोर निर्माण सम्पन्न गर्छौँ
काठमाडौँ १४ नम्बर वडामा करिब ३ किलोमिटर जति लामो करिडोर पनि बन्दै छ । जुन खड्कुलेको पुलदेखि वयोधा अस्पतालसम्मको ठाउँमा छ । साढे तीन किलो मिटर करिडोर खोल्ने हाम्रो बाचा हो । हामी आफ्नै कार्यकालमा पूरा गछौँ । यो कोरोनाका कारण रोकिएको छ । केही समयमा यसले पनि गति पाउँछ ।
पार्टी र प्रतिपक्षबाट सहयोग छ
म जुनसुकै पार्टीबाट बिजयी भएर आएपनि म यस वडाका सबै जनताको जनप्रतिनिधि हुँ । मैले कहिल्यै पनि जनताका काममा कुन पार्टी र को भनेर हेर्दिन । जो भएपनि यहीका जनता हुन् । चुनाव र भोट भन्ने एउटा प्रजातान्त्रिक प्रक्रिया हो ।
यसमा म तत्कालिन एमालेबाट उम्मेद्वार थिएँ । अहिले तत्कालिन एमाले र माओवादी मर्ज भएर नेकपा बनेको छ । मलाई नेकपा र प्रतिपक्षी नेपाली काँग्रेस लगायतका अन्य दलले पनि सहयोग नै गर्नुभएको छ । सहयोग नभए यति काम गर्न पनि गाह्रो हुने थियो । सामान्य विरोधी त जहाँ पनि हुन्छन् । त्यसलाई चिरेर अगाडि बढेका छौँ । चुनावमा बाचा गरेजति काम भएनन् होला । तर पनि हामी प्रयासमै छौँ । सक्नेजति गरिरहेका छौँ ।
कसैलाई कोरोनाको संका लागेमा सिधै सम्पर्क गर्नुहोस्
वडाध्यक्ष शोभा सापकोटाले १४ नम्बर वडाभित्र बस्ने जो सुकैलाई कोरोनाको आशंका लागेमा तुरुन्त जनप्रतिनिधिलाई फोन गर्न आग्रह गरेकी छिन् । वडाध्यक्ष सापकोटाले आफ्नो फोन नम्बर ९८५१२७९९१४ दिँदै आशंका लागेमा र कन्ट्रायाक ट्रेसिङमा परेमा आफुलाई फोन गर्न आग्रह गरेकी हुन् ।
सापकोटाले भनेकी छन्, “दिनप्रतिदिन कोरोनाको महामारी बढीरहेको छ । अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कनुहोला । अत्यावश्यक काममा पनि सुरक्षित भएका आउनुहोला । आउँदापनि सकेसम्म एक जनामात्रै आउनुहोला । अहिले हामीहरु सबै सतर्क रहने बेला हो ।” वडाध्यक्ष सापकोटाले कोरोना संक्रमितलाई स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति हार्दिक समवेदना पनि व्यक्त गरेकी छिन् ।
यस्तो छ वडाध्यक्ष सापकोटासँगको भिडियो संवाद
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
