अब एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद, यस्तो छ मन्त्रिपरिषदबाट पारित अध्यादेश (पूर्णपाठ)

काठमाडौँ । पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटना बढेसँगै सरकारले एसिड आक्रमण गर्नेमाथि कडा कारवाही गर्ने गरी कानुन ल्याउन लागेको छ।

सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरी एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्न लागेको हो।

Advertisement

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि सजाय बढाउने गरी अध्यादेश ल्याएको छ । अब राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि कानुनमा संशोधन गरी लागू हुने छ।

आँखा, कान, मुख, छाती र यौनाङ्गमा एसिड लागे २० वर्ष कैद र दश लाख जरिवना

अध्यादेशमा आँखा, कान, मुख, छाती र यौनाङ्गमा एसिड लागेमा २० वर्ष कैद र दश लाख रुपैयाँ जरिबाना हुने व्यवस्था गरिएको छ। यस्तै शरीरको कुनै अङ्ग भङ्ग वा शारीरिक क्षति भएमा कसुरको प्रकृतिअनुसार पाँच वर्षदेखि १० वर्षसम्म कैद र एक लाखदेखि पाँच लाखसम्म जरिबाना हुनेछ।

यस्तै सरकारले पीडितको निःशुल्क उपचार तथा रोजगारको समेत व्यवस्था गर्ने भएको छ। यसअघि सरकारले एसिड पीडितको निःशुल्क उपचार हुने बताइसकेको छ।

आजीवन प्रयोग गर्ने औषधिको सम्पूर्ण खर्च सरकारले बेहोर्ने

उपचारका क्रममा लाग्ने औषधि र आजीवन प्रयोग गर्ने औषधिको सम्पूर्ण खर्च पनि सरकारले नै बेहोर्ने निर्णय भइसकेको छ। यसको संयोजन स्वास्थ्य मन्त्रालयले गर्ने छ। यस्तै पीडितलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गरिएको छ। यसका लागि शिक्षा मन्त्रालयले व्यवस्था मिलाउने छ।

त्यसैगरी क्षमता विकाससम्बन्धी तालिम र सीपको व्यवस्था उद्योग मन्त्रालयले मिलाउने छ। उद्योग मन्त्रालयले योग्यताअनुसारको रोजगारीका लागि निजी क्षेत्रसँग समन्वय गर्नेछ।

More News last news
Loading...