काठमाडौँ । सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन बनाइने बताएका थिए।
त्यसका लागि उनले १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका थिए।
प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत नयाँ कानून ल्याउने बताएसँगै नयाँ कानूनको मस्यौदा तयार भइरहेको स्रोतले जनाएको छ।
नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोकिएको छ। आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष तथा अन्य अंगमा घाउचोट लागे १५ वर्षको कैद सजाय तोकिएको छ।
एसिड आक्रमणमा शरीरको कुनै पनि भाग एसिडले छोएमा न्यूनतम दश वर्षको सजाय तोकिएको छ भने एसिड आक्रमण गर्नेहरुलाई धरौटीमा रिहा या आममाफी लागू नहुने समेत अध्यादेशमा उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
