काठमाडौँ । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ । नयाँ बीमितलाई कोभिड-१९ संक्रमण पुष्टि हुनासाथ २५ हजार मात्र दिने भएको छ।
आइसोलेसनमा बस्नु परेमा बिल भरपाईका आधारमा थप ७५ हजारसम्म दिइनेछ। समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरुको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन। उनीहरुले संक्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन्।
व्यक्तिगत रुपमा ६ सय रुपैयाँ तिरेर र सामूहिक रुपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था छ। समितिले ७५ करोड रकम उठाइसकेपछि भदौ १९ मा निजी ल्याबमा कोरोना परीक्षण गरेकाहरुलाई बीमा रकम नदिने बताएको थियो ।
तर चौतर्फी आलोचना गरेपछि समितिले आइतबार मात्र निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो ।
सोमबारबाट समितिले नयाँ बीमितहरुलाई लागू हुने गरी नयाँ मापदण्ड ल्याएको हो ।
बीमा समितिले उक्त मापदण्ड संशोधन गर्दै एक लाख रुपैयाँको बीमा गरेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए २५ हजार रुपैयाँमात्रै पाउने व्यवस्था गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
