नेपाली शान्ति विज्ञ राजेन्द्रलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार

काठमाडौँ । नेपाली शान्तिकर्मी राजेन्द्र सेन्चुरीलाई शान्ति निर्माणमा योगदान पुर्याएबापत ‘बुक्स फर पिस २०२०’ विशेष पुरस्कारबाट सम्मानित गरिएको छ।

यही भदौ २७ गते इटालीको रोम शहरको सान्ता सेसिलियाको कन्जर्वेटरीको एकेडेमिक हलमा पुरस्कारको घोषणा गरिएको थियो। एकसठ्ठी देशका सङ्गठनको सहयोगमा समारोह आयोजना गरिएको थियो।

Advertisement

विश्व महामारीविरूद्ध लगाइएको यात्रा प्रतिबन्धका कारण राजेन्द्रले भने आफैँ उपस्थित भएर प्रमाणपत्र ग्रहण गर्न पायनन्।

राजेन्द्रले नेपाल र अन्यत्र रहेर शान्ति र सद्भाव कायम गर्न आफ्नो जीवनवृत्ति समर्पित गरेका छन्। उनले दक्षिण एशिया र युरोपका अधिकांश देश पुगेर शान्ति निर्माणको बारेमा आफ्नो गहन ज्ञान र अनुभव साट्दै आएका छन्।

अन्तरधार्मिक सद्भाव, नागरिक प्रतिरोध र अहिंसा, हिंस्रक आतङ्कवाद रोकथाम तथा नियन्त्रण, मानव अधिकार, द्वन्द्वोत्तर न्यायका साथै दिगो शान्ति निर्माणका लागि युवा र सीमान्तकृत समुदायको मूल प्रवाहीकरणजस्ता क्षेत्रमा रहेको उनको विशेषज्ञताका आधारमा उनको मुल्याङ्कन भएको थियो।

राजेन्द्रले शान्ति र न्यायसम्बन्धी मुद्दाहरुमा स्वतन्त्र योगदानकर्ताको रूपमा नेपालको अग्रणी राष्ट्रिय दैनिकहरुमा दर्जनौँ लेख लेखेका छन् ।

More News last news
Loading...