धादिङ । राति सवा १ बजे जिल्ला प्रहरी कार्यालय, धादिङको गेटमा आएर एक युवकले ‘मान्छे मारेर आएको हुँ’ भनेपछि ड्युटीमा खटिएका एक जना प्रहरी अक्क न बक्क भए।
उनले ती युवकको कुरा पत्याएनन्। प्रहरीले नपत्याएपछि ती युवकले झोला खोलेर देखाए। झोलामा एक पुरुषको टाउको मात्रै देखेपछि ती प्रहरीको होस उड्यो।
बिहीबार राति १० बजेतिर धादिङको नीलकण्ठ नगरपालिका–१३ स्थित खलचेतमा आत्महत्या गरेका एक व्यक्तिको १३ दिने कर्मकाण्डमा संस्कारअनुसारको पितृप्रसाद खाएर फर्किरहेका ६४ वर्षीय सोमबहादुर गुरुङ र २३ वर्षीय राजु परियारको बाटोमा जम्काभेट हुन्छ ।
राजुले सोमबहादुरलाई सोधे, ‘यति राति कता हिँडेको बाबै ?’ सोमबहादुरले जिस्किँदै जवाफ दिए, ‘तेरो श्रीमतीलाई भेट्न जान लाको ।’ युवक रिसाउँदै ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने’ भन्दै बाझ्न थाले ।
वृद्धले युवकको घॉटी समाते, युवक फुत्केर नजिकैको घरमा गएर खुर्पा ल्याएर वृद्धको गर्दन छिनाए । त्यसपछि उनी हत्या गरिएका वृद्धको टाउको झोलामा राखेर डेढ घण्टा पैदल हिँडेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुगे ।
युवकले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्णका लागि आएको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए । सामान्य विवाद हुँदा खुर्पाले हानेर हत्या गरी राति १ बजेतिर प्रहरी कार्यालयमा आइपुगेको रेग्मीले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
