काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्ट्राचारीलाई प्रोत्साहन गरेको आरोप लगाएका छन्।
नेता पौडेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै, काँकडभिट्टा-इनरुवा रेल मार्ग निर्माणमा परियोजना निर्माणस्थलको धरातल प्रष्ट नभई सार्बजनिक खरिद ऐन ८, ९, १० र १५ तथा खरिद नियमावली (६) विपरीत रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धाविना निश्चित ठेकेदारलाई पोस्ने गरी हचुवाका भरमा ठेक्का दिनु गलत भएको बताएका छन्।
नेता पौडेलले भनेका छन्, “राष्ट्रिय ढुकुटीबाट रेलमार्ग निर्माणका नाममा ३५ अर्ब रुपैयाँ हचुवाका भरमा खर्च गर्नु अनुचित छ। रेलमार्गमा पर्ने बजारको व्यवस्थापन र उक्त क्षेत्रमा जनताले उपभोग गर्दै आएको जग्गाको मुआब्जा वितरण समेत नगरी रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु सर्वथा गलत छ । सँगसँगै रेलमार्ग निर्माणको जिम्मा निश्चित ठेकेरालाई मात्रै योग्य बनाएर हचुवाका भरमा दिनुले सरकारले नीतिगत तथा संस्थागत भ्रष्ट्राचारलाई प्रोत्साहन गरेको प्रष्ट हुन्छ ।”
नेता पौडेलले सरकारले आवश्यक गृहकार्य र तयारी बिना ठेक्कापट्टाको हतारो गर्नु अनुचित भएको बताउँदै राष्ट्रिय ढुकुटीको ब्राम्हलुट गर्नबाट जोगाउन तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर त्यसबारे छानविन गर्न संसदीय लेखा समिति, विकास समिति, सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत लगायत न्यायिक निकायको जोडदार ध्यानाकर्षण गराएका छन्

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
