काठमाडौँ । राजधानीको बालाजुमा रहेको जनमैत्री अस्पताल सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।
सरकारले जनमैत्रीलाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेअनुसार आजदेखि १०० बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको हो।
काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पहलमा स्वास्थ्य मन्त्रालयले जनमैत्रीलाई कोभिड अस्पतालको रपमा सञ्चालन गर्ने निर्णय गरेको थियो।

जसअनुसार सोमबार कोभिड अस्पतालको जनशक्तिको रुपमा आएका डाक्टर तथा नर्सलाई वडाध्यक्ष रिजालले पुष्पगुच्छाले स्वागत गरे ।

कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई देशका विभिन्न स्थानमा दुर्व्यवहार भइरहेको घटना बाहिर आएको बेला स्वास्थ्यकर्मीको महत्त्व र आवश्यकता बुझाउन वडाले सम्मानका साथ स्वागत गरेको वडाध्यक्ष रिजालले बताए।
२०७२ सालको भूकम्पयता जनमैत्री अस्पताल बन्द अवस्थामा रहेको थियो । विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाडौं उपत्यकाका पनि प्रभावित भएर संक्रमितले उपचार पाउन नसकेको भनिएको बेला सो अस्पताल खुलाउन पहल थालिएको थियो ।

सोहीअनुसार वडाले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई अस्पताल खुवाउन आग्रह गर्दै पत्राचार गरेको थियो।
त्यसलाई व्यवस्थापन र सरकारले सकारात्मक रुपमा लिँदै कोभिड अस्पताल सञ्चालनको अनुमति दिएर सञ्चालनमा आएसँगै बालाजु क्षेत्रमा कोही संक्रमित भइहाले उपचारमा सहज हुने विश्वास लिइएको छ।

अस्पताल सञ्चालको लागि आवश्यक सम्पूर्ण खर्च स्वास्थ्य मन्त्रालयले गरेको बताइएको छ।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
