काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण रहे–नरहेको पत्ता लगाउन गरिने पीसीआरको शुल्क घटाएको छ। नयाँ मूल्य अनुसार अब अधिकतम ४ हजार ४ सय रुपैयाँमा कोरोना परीक्षण गर्न सकिने छ।
मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड-१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अब कुनै पनि संस्थाले सेवा शुल्कसहित ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने जानकारी दिए । सबै शुल्क जोडेर अधिकतम ४४०० सय रुपैयाँ हो। त्यो भन्दा बढी एक रुपैयाँ पनि लिन पाइँदैन, उनले भने।
यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
