काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप ९८ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। काठमाडौँ उपत्यकामा थपिएका मध्ये काठमाडौँका ८० जना र ललितपुरका ९ जना र भक्तपुरका ९ जना रहेका छन्।
यो सहित पछिल्लो २४ घण्टामा देशभर ४६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। ११ हजार ४ सय ४७ जनाको पिसीआर परिक्षण गर्दा ४ सय ६८ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ। संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाव दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपनि पछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
