काठमाडौँ । कास्कीका विभिन्न प्रहरी इकाईमा कार्यरत १ सय ११ प्रहरीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
ड्युटीमा रहँदा बाहिरी मानिससँग प्रत्यक्ष सम्पर्कमा आएका विभिन्न इकाईका १ सय ११ जनाकोस्वाब संकलन गरिएकोमा बिहीबार रिपोर्ट नेगेटिभ आएको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
ट्राफिक प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय रामबजार, ईलाका प्रहरी कार्यालय शिशुवा लगायतमा कार्यरत प्रहरीको बुधबार स्वाब संकलन गरिएको थियो ।
कास्कीमा ड्युटीका प्रहरीमा बुधबार कोरोना पुष्टि भएको थियो । पोखरा–३ स्थित नदीपुर बिटमा कार्यरत हवल्दारमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाको खोजी सुरु भइसकेको छ ।
संक्रमित प्रहरीको सम्पर्कमा आएका बिटका अरु ४ प्रहरीलाई क्वारेन्टाइनमा राखिएको एसपी श्रेष्ठले जानकारी दिए । नजिकै क्वारेन्टाइन रहेको र बेलाबखत गइरहने भएकाले त्यहीँबाट सरेको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरी बिट नजिकै पद्म नर्सिङ होमलाई पोखरा महानगरपालिकाले महिला क्वारेन्टाइन बनाएको छ। कास्कीमा रहेका विभिन्न प्रहरी कार्यालयमा ९ सयभन्दा बढी प्रहरी कार्यरत छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
