– बिष्णु पौडेल
काठमाडौं । कमल पंगेनी अंकलसंग मेरो पहिलो पटक भेट वि.स. २०५० सालमा भएको हो । त्यति बेला उहाँ जिल्ला विकास समिति स्याङजाको सदस्य हुनुहुन्थ्यो र मेरो बुबा तत्कालिन थुमपोखरा गाविसको अध्यक्ष हुनुहुन्थ्यो । म स्कूलको विद्यार्थी थिए र राजनैतिक पृष्टभूमिको परिवारमा हुर्केको भए पनि परिपक्क ढंगबाट राजनीतिलाई बुझ्न सक्ने क्षमता त्यतिबेला सम्म विकास भइसकेको थिएन । तरपनि कमल अंकल र बुबाका बिचमा हुने गफहरु म निकै ध्यान दिएर सुन्ने गर्दथे । अंकल र मेरो बुबा दुवै जना राजनीतिमा सक्रिय भएकाले अंकल हाम्रो घरपरिवारको विचमा राजनैतिक सम्बन्ध त थियो नै । पारिवारीक हिसावले पनि उहा एकदमै नजिक हुनुहुन्थ्यो । उहालाई मैले पहिलो पटक भेटेको दिनदेखि नै अंकल भनेर नै सम्बोधन गर्ने गर्थे । जुन कुरा पछि म सक्रिय राजनीतिमा रहँदा पनि रहिनै रह्यो ।
कमल पंगेनी अंकलसगको मेरो राजनीतिक यात्रा र मैले उहाँसंग संगालेका अनूभूतिहरुको चर्चा गर्दै गर्दा म केहि अविस्मरणीय क्षणहरुको चर्चा गर्न चाहन्छु । म नेपाल विद्यार्थी संघको राजनीति गर्दै गर्दा र पार्टी राजनीतिमा सक्रिय रहँदा उहाँसंग मेरो निकट सम्बन्ध रहयो । प्रत्यक्ष रुपमा उहाँसंग मेरो राजनैतिक, सामाजिक र अन्य समसामायिक बिषयका छलफल भेटघाट र अन्तरक्रिया लगायतका विविध प्रसंगहरुमा वि.स. २०५४ साल देखि २०७५ को श्रावण महिना सम्म निरन्तर रुपमा नै सम्पर्क र सम्बन्ध रहयो ।
म राजनैतिक परिवारको पृष्टभूमिबाट आएको र विद्यार्थी राजनीतिमा सक्रिय भएको हुँदा अंकलले मलाई निकै माया गर्ने गनुहुन्थ्यो । मलाई राजनीति कसरी गर्ने भन्ने कुरा निरन्तर रुपमा सिकाईरहनु हुन्थ्यो । कहिलेकाही म कुनै कामहरु नँहुदा नैराश्यता व्यक्त गर्दा समेत अंकलले घरमा बोलाएर वा फोनबाट सम्झाउने गर्नुहुन्थ्यो । त्यस अर्थमा पनि अंकल मेरा राजनीतिको अभिन्न अभिभावक हुनुहुन्थ्यो ।
अंकल संगको राजनैतिक सहकार्यमा मैले सिकेका प्रसस्त कुराहरु छन । आज अंकलको अभावमा मलाई स्मरण भइरहने महत्वपूर्ण कुरालाई म यँहा चर्चा गर्न चाहन्छु । अंकलसंग राजनीतिक कार्यक्रमहरुमा स्याङजाका विभिन्न गाँउवस्ती घुम्दा होस वा विकास निमार्ण र राष्ट्रिय राजनीतिका लागि काठमाडौ र सिंहदरवार भित्रका विभिन्न मन्त्रलायमा जाने क्रममा अंकलले हामीलाई सिकाएका अविस्मरणीय ज्ञानहरु आज पनि मेरो मानसपटलमा उत्तिकै छ । अंकलले भन्ने गर्नु हुन्थ्यो राजनीति गर्ने व्यक्ति भडकिलो जीवन यापन गर्नु हुदैन, सादा जीवन र उच्च विचारलाई अंगिकार गर्दै राजनीतिको केन्द्रमा सदैव जनताहरुलाई राख्नु पर्दछ भनेर । जनताको सेवा नै राजनीतिको मुख्य आधार हो र जस्तो सुकै परिस्थिति र जटिलतामा पनि जनताको सेवामा तल्लिन रहनु नै एक राजनीतिज्ञको धर्म हो भन्ने लगायतका सुझावहरु सदैव स्मरण भइरहन्छ ।
अंकलको व्यक्तिगत सम्पर्क र राजनीतिक सम्बन्ध निकै व्यापक थियो । उहाँ जिल्ला देखि केन्द्र तह सम्म विद्यार्थी, तरुण, युवा, राष्ट्रसेवक कर्मचारीहरु लगायत पार्टिका अन्य जिल्लाका नेता कार्यकर्ताहका माझमा अत्यन्त लोकप्रिय र परिचित हुनुहुन्थ्यो । सामान्य जीवनयापन गर्ने कृषकहरु देखि राज्यसंचालनमा सक्रिय कर्मचारीहरु र उच्च पदस्थ राजनीतिक नेतृत्वसंग समेत अंकलको सम्बन्ध उत्तिकै राम्रो थियो । दुरदराजका गाँउवस्तीमा रहेर सामान्य खेती किसानी गर्ने जनताहरुलाई भेटदाको सरलता देखि, राष्ट्रिय राजनीति र विकास निमार्णका सवालमा छलफल अन्तरक्रिया गर्दा अंकल गर्ने संवादहरुबाट मैले धेरे कुराहरु सिकेको छु ।
समय, परिस्थित र व्यक्तिलाई बुझेर कुरा गर्न सक्ने उहाँको क्षमता म अन्य नेताहरुमा विरलै देख्छु । अंकले सदैव भन्ने गर्नुहुन्थयो जनता तथा पार्टी कार्यक्रर्ताहरुलाई अफठयारो परिस्थिति आँउदा दिनरात भन्नु हुदैन र राजनीतिमा होमिए पछि व्यक्तिगत जीवन, पारिवारीक सुखसयलमा मात्र रमाएर पुग्दैन भन्ने गरेका कुराहरु । व्यक्तिगत सम्पर्क र सम्बन्धका कारण नै उहाँले जिल्लामा गर्ने विकास निमार्णका कार्यहरुलाई सघाउ पुयाएको थियो । अंकलले हामीलाई राजनीति भनेको विकास निर्माण र जनताको दुख सुखमा साथ दिनु नै हो भनेर मार्गदर्शन गर्ने गर्नु हुुन्थ्यो । विभिन्न समयमा हुने पार्टी भित्रका आन्तरिक निर्वाचनहरु र भातृसंगठनका निर्वाचनका बेलामा अंकलले राजनीति केवल गुट उपगुट निर्माण मात्र नभएर सक्षम व्यक्तिलाई नेतृत्व सुम्पनु पर्दछ भन्ने भावनामा चट्टानी अडान लिनु हुन्थ्यो ।
उहाँले विकास निमार्णका सवालमा कुनै व्यक्ति र राजनीतिक दलहरुलाई प्रतिपक्ष भन्ने हुदैन । सार्वजनीक पदधारण गर्दा विकास निमार्णका सवालमा प्रतिपक्षिलाई समेटेर अगाडि बढनु पर्दछ, भन्ने भावनाका कारण कमल अंकल नेपाली कांग्रेस वृत्तमा मात्र होइन, अन्य प्रतिपक्षी राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुका माझमा पनि अत्यन्त लोकप्रिय र समन्वय गर्न सक्ने नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।
अंकल आफ्नो जिवनभर सदैव सक्रिय राजनीति गर्नुभयो । नेपाल विधार्थी संघमा जिल्ला तहको राजनीतिदेखि, केन्द्रिय सदस्य, जिल्ला विकास समिति स्याङजाको सदस्य, दोस्रो संविधान सभाको निर्वाचनबाट संविधान सभा सदस्य र नेपाली कांग्रेस स्याङजा जिल्लाको सभापतिको हैसियतमा उहाँले देशको संविधान लेखन, नीति निमार्ण, विकास निमार्ण, सामाजिक जनचेतना, युवाहरुको क्षमता अभिवृद्धि र नेतृत्वदायी भूमिका लगायतका कार्यहरुमा निकै महत्वपूर्ण भूमिका खेल्नु भएको छ । म विद्यार्थी राजनीतिको केन्द्रमा रहेर राजनीति गर्दै गर्दा मैले देशभरका विद्यार्थी नेताहरुले अंकल प्रति व्यक्त गरेको सम्मान र विस्वास देख्दा राजनीति प्रतिको मेरो लगावमा थप हौसला र अंकल प्रतिको सम्मान बढथ्यो ।
नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ देखि पार्टी राजनीतिलाई आधार मान्दा म स्वयम पनि सक्रिय राजनीतिमा होमिएको करिब १७–१८ बर्ष भइसकेछ । यस अवधिमा म पनि संगठन निमार्ण, विकास निमार्ण र जनताको दुखसुखमा सहभागि रहि आएको छु । मेरो आफ्नो अनुभवले पनि म केही कुराहरु सिकेको छु । मलाई सदैव लाग्ने गर्दछ राजनीति सदैव सिधा दिशामा मात्र हुर्दैन । अपेक्षाहरु सदैव पुरा हुन्छन भन्ने पनि हुदैन । आफूले गरेका निर्णयहरु सदैव ठिकमात्र हुन्छन भन्ने पनि हुदैन । पार्टी राजनीतिमा आएपछि कमल अंकलसंगको सम्बन्धमा निकै प्रगाढता आयो ।
जिल्लामा हुने राजनैतिक कुराहरुमा सदैव म कमल अकंलसंग परामर्श गरेर गर्दथे । तर कहिलेकाही र उहाँ र मेरो बिचमा पनि केही बिषयवस्तुहरुमा मतभिन्नताहरु हुने गर्थे । राजनैतिक सवालहरुमा मतभिन्नता आएपनि अंकल र मेरो बिचमा सम्बन्धमा कहिले पनि दरार आएन । अंकलले व्यक्ति र बिषयवस्तुलाई फरक ढंगबाट हेर्ने गर्नुहुन्थयो । व्यक्तिसंग सम्बन्ध राखेर पनि बिषयवस्तुमा फरक अडान लिन सकिन्छ भन्ने कुरा मैले उहाँसंगको राजनीतिक सहयात्राबाट नै सिकेको हो ।
आज कमल अंकललाई स्मरण गर्दैगर्दा मलाई उहाँले सिंहदरवारका विभिन्न मन्त्रालयमा पुगेर विकास निमार्णका कार्यहरु कसरी गर्ने भनेर सिकाएका क्षणहरुको स्मरण हुन्छ । त्यसैगरी संविधान सभा निर्वाचनमा स्याङजा क्षेत्र नं १ बाट पराजय भोगेर पनि आम मतदातालाई सौहादर्तापूर्वक ढंगबाट हार्दिक कृतज्ञताका लागि गाँउबस्तीहरुमा गरेको राजनैतिक अभियान र संविधानसभा सदस्यका रुपमा संविधान लेखनका लागि अंकलले गरेको योगदान स्याङजा कांग्रेसलाई क्रियाशील कांग्रेस र शसक्त कांग्रेसका रुपमा देशभर नै परिचित बनाएको पहिचानका कारण पनि कमल अंकल अन्य सामान्य राजनैतिक कर्मीहरु भन्दा पृथक व्यक्ति हुनुहुथ्यो भन्नमा मलाई कुनै दुविधा छैन । आज कमल अंकलको अनुपस्थितिले मलाई सताएको छ । जिल्ला र केन्द्रका राजनीतिक कार्यक्रमहरुमा जादै गर्दा अंकलको अभाव खडकिरहन्छ ।
अंकलको भौतिक अनुपस्थिति भएता पनि उहाँको आर्दशलाई मैले कहिले पनि विर्सने छैन र नेपाली कांग्रेस पार्टी र लोकतन्त्रप्रति आस्थावान व्यक्तिहरु, सम्पूर्ण स्याङजा जिल्ला बासीले उहाँलाई सदैव स्मरण गर्ने छन भन्ने कुरामा विस्वस्त छु । देशको विकासलागि जल, जंगल, जमिन र जवानीलाई उचित सदुपयोग गर्दै अगाडि बढनुपर्दछ भन्ने भावना उहाँमा सदैव थियो । आफ्नो व्यक्तिगत जीवन, पारिवारीक सुख सयल भन्दा पनि जनताको दुख सुख र सामाजिक कार्यमा नै समय व्ययतित गर्न मन पराउने कमल अंकलको अभाव हाम्रा लागि सदैव रहिरहनेछ ।
मैले कमल अंकललाई नेपाली कांग्रेस स्याङजाको जिल्ला सभापति, संविधान सभाको सदस्यका रुपमा मात्र होइन, मेरो राजनैतिक र पारिवारीक अभिभावकका साथै एक आर्दश नेता र सामाजिक व्यक्तिको रुपमा सदैव सम्झिरहनेछु । अंकलप्रतिको मेरो सम्मान र सदभाव अनि वँहाले अबलम्बन गरेका राजनैतिक सपनाहरुको निरन्तरता र राजनीतिलाई सार्वजनिक हित र समाजसेवाको रुपमा अंगिकार गर्दै सदैव अगाडि बढनेछु ।
(पंगेनीको पहिलो स्मृती दिवसमा प्रकाशित स्मारिकाबाट । लेखक नेपाली काँग्रेस स्याङ्जाका नेता हुन् । )
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
