सम्झनामा पंगेनी : जनताको लोकप्रिय व्यक्तित्वको सम्मानमा किन कन्जुस्याई ?

– अजित क्षेत्री 

काठमाडौं । साउनको २० गते बिहानैदेखि विभिन्न सोधपुछका फोनले मलाई, तारन्तार झस्काइ रहेका थिए । आदरणीय अंकल कमल पंगेनी बिरामी हुनु भएको हो ? उहाँको बारे वास्तविक भन्नुस ? भन्ने लगायतका प्रश्न सोधिरहेका थिए । म जवाफ दिन्थे, नहतारिनुस उहाँ बिरामी हुनु भएको चाहिँ हो, हेलु हस्पिटल जाँदै छु, पुगेर अपडेट गर्छु ।

Advertisement

हेलु पुग्दा जे नहुनु थियो त्यो भै सकेको थियो । कमल पंगेनी अंकलले राती नै हामीलाई छाडेर गैसक्नु भएको थियो । अस्पतालमा सयौं शुभेच्छुक एवं आफन्तजनको भीडभाड लागिसकेको थियो । मलाई स्मरण छ, त्यो बर्ष साउन महिनामा साउन बार्ने (माछा-मासु नखाने), शाहाकारी, शुद्ध खाने भएकोले कमल अंकल पोखरा राममन्दिर स्थित दाइको घर मै बसिरहनुभएको थियो । पोखरामा नियमित भेटघाट र स्याङ्जाको मग्याममा बिपी स्मृति दिवसको कार्यक्रम, त्यसपछी काठमाडौ यात्रा, सगैं फर्कियर पोखरा पछि साउन १७ गते स्याङ्जा जानुभएको थियो । जिल्ला कार्यसमितिलाई पुर्णता दिने उद्देश्यले, बिधि र बिधान पक्षधर तत्कालीन जिल्ला सभापति एवं संविधान सभा सदस्य आदरणीय कमल पंगेनीलाई हामीले गुमाएको पनि आज २ बर्ष बितिसकेको छ ।

                स्व. कमल प्रसाद पंगेनी । फाइल तस्बिर

उहाँ भन्नुहुन्थ्यो ‘आफू भलो जगत भलो’ भन्ने उखानलाई आत्मसाथ गर्नुहुन्थ्यो । हामी स्याङ्जा प्रस्थानका लागि काठमाडौमा अंकलको निबास पुगेका थियौ, गाडिमा झोला हाल्दै थियौ। २ वटा मोटरसाईकल ठोक्किएर मानवीय क्षति नभएतापनि मोटरसाईकलमा क्षति पुगेपछि म आफै उनीहरुलाई उठाउन पुगेको थिए । अंकलले उनीहरु मिल्लान् भन्नुभयो र गाडीमा बस्यौं तर उनीहरुको झगडा नमिलेपछि उहाँ आफै गएर झगडा मिलाउनुभएको थियो । साइतको बेलामा झगडा मिलाएर हिडेपछि साईत पर्ने र काम पनि बन्ने उहाँको विश्वास थियो । तर त्यो साइत राम्रो बनाउने कमल दाइको प्रयास विफल रह्यो । त्यस बेला संविधान सभा सदस्य राजु दाई, म र कमल अंकल स्याङ्जाको यात्रामा निस्केपछि हामी कहिल्यै पनि यात्रामा निस्कन पाएनौं, उहाँले सदाका लागि हामीलाई छाडेर जानुभयो ।

पृथ्वीनारायण क्याम्पसको अध्ययन सँगै राजनीतिमा पाइला चाल्दै गर्दा, २०६३ साल तीरको कुरा हो, क्याम्पसका केहि साथीहरु नेपाल विद्यार्थी संघको हेल्प डेक्समा थियौं, फोन बज्यो, फोन उठाए, उताबाट आवाज आयो, ‘जय नेपाल म कमल पंगेनी बोलेको स्याङ्जाबाट’ महिले पनि जोशिलो जय नेपाल फर्काए ।

क्रमशः कुरा हुँदै जाँदा घर कहाँ हो, ‘कसको छोरा हौ ? ए तिम्रो बुवा यामलाल मेरो साथी हुनुहुन्छ, मैले राम्रो सँग चिने ?’ गज्बबको संवाद भएको थियो । काँग्रेस एकता हुने देखि, राम्रोसँग पढ्न, संगठन गर्न, पृथ्वीनारायण क्यामपसको जय नेपाल चौरको इतिहास देखी, म तिम्रो अभिभावक हुँ, जुनसुकै कुरा सुखः दुख मलाइ भन्नु म छु भनेर त्यस बेला अंकलले भन्नुभएको कुरा मेरा लागि मार्गदर्शन थिए । मेरो खास थर अधिकारी भएपनि महिले अधिकारी ‘क्षेत्री’ लेख्ने गरेको थिए, उहाँले बुबाको नाम अधिकारी तिमिले किन क्षेत्री लेखेको भनेर समेत सोध्नुभयो ।

करिब १५ मिनेट लामो फोन कुराकानीपछि मेरा मनमा विभिन्न प्रश्नहरु उब्जिए । आखिर कमल पंगेनी कस्ता व्यक्ति हुन् ? कौतुहलता वढेपछि म पृथ्वीनारायण क्याम्पस प्रशासनको हेल्प डेस्कबाट बाहिर निस्केर प्राध्यापक सरहरु सँग सोध्न थाले सर, कमल पंगेनी भनेको कस्ता मान्छे हुन ? सरहरुबाट जवाफ आयो, ‘चतुर छन , संगठनमा लाग्छ्न, कद होचा–होचा छन, तर नेबिसंघका भाइबहिनीलाई बहुतै माया गर्छन् । ‘नेबिसंघका केटाहरुलाई माया गर्छन्’ भन्ने शब्दले मेरो मनमा छोयो, अहिलेको जस्तै त्यसबेला पनि नेताहरु खाली आफ्नो गुटमा हिड्नेलाई मात्र माया देखाउथे, स्वच्छ संगठनमा लाग्नेलाई हेप्ने र माथी उठ्न नदिने प्रविधि पुरानै हो, सरहरुको त्यस कुराले महिले भर्खरै शुरु गरेको राजनीतिक करिअरमा उहाँको त्यो कुराले हर्षित बनायो ।

                                          जिल्लाका नेता, कार्यकर्ताका साथमा स्व. कमल पंगेनी । फाइल तस्बिर

त्यसपछि कमल अंकल र मसँग फोनमा कुराकानीका साथै भेटघाटले समेत तीब्रता बाक्लिदैं गयो । लगत्तैको पार्टी एकता र २०६४ सालको संबिधान सभा निर्वाचनमा थप नजिकबाट बुझ्ने र सिक्ने अबसर मिल्यो । २०६४ मै नेबिसंघको स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय सभापति भएपछी उहाँको समिपमै बसेर सांगठनिक गतिविधिमा सक्रिय रहने तारतम्य मिल्यो ।

सामान्य किसान परिवारमा जन्मिएर नेपाल बिद्यार्थी संघको केन्द्रीय समिती हुँदैं काँग्रेसको लोकप्रिय जिल्ला सभापति, निर्वाचित सांसद, जसलाई आम जनता र साधारण कार्यकर्ताले सहज सम्पर्क गर्न सक्छ । जनताको बीचमा रुचाएका र बिकास योजनाको कार्यहरुमा प्रक्रिया संगत ज्ञान भएका, निरन्तर बिकास निर्माणमा जुट्ने बिकास प्रेमी, काँग्रेसका अग्रजलाई सम्मान र सानोलाई माया गर्ने सबैलाई मिलायर आफ्नै दल भित्र वा फरक दल, कर्मचारी, बौद्धिक समूह  र जन–जन सँग सहयात्रा गर्ने उहाँको राजनीतिक शैली म लगायत हाम्रो पुस्ताका लागि सधै स्मरणीय र मार्गदर्शन हुनेछ । जसलाई हामी सबैले अनुसरण गर्नु अपरिहार्य छ ।

उहाँ राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति सधै बफादार काँग्रेसको इमान्दार कार्यकर्ता हुनुहुन्थ्यो । उहाँको राष्ट्रियतालाई काँग्रेसको शिर र एउटा हात लोकतन्त्र, अर्को हात समाजवाद भन्ने नीति स्याङ्जाली काँग्रेसमाझ निकै लोकप्रिय रहेको थियो । नेपालको बिकासका लागि नेपालको जल, जमिन, जंगल र जवानीलाई सदैव सदुपयोग गर्नुपर्ने भनाईलाई उहाँले सदैव आफ्ना मन्तब्यहरुमा राख्नुहुन्थ्यो । हरेक कार्यक्रममा उहाँले केही वढी समय लिएरै भए पनि वीपीको प्रजातान्त्रिक समाजबाद किन हाम्रो माटो सुहाउँदो छ ?, काँग्रेसले जनताको पक्षमा कुन कामहरु र नीतिगत र व्यबहारिक रुपमा कार्यान्वयन गर्‍यो ?, सुर्धानुपर्ने कमजोरीहरुका बिषयमा बोल्नुहुन्थ्यो । जसका कारण उहाँको भाषण शैलीलाई लिएर आम काँग्रेस कार्यकर्ता र जनताले मुक्तकण्ठले प्रशंसा गर्दथे । प्रायः गाउँमुखी राजनीतिमा केन्द्रित रहने हुनाले उहाँ गाउँ जाँदा समाबेशी, लैङिक महिला, जनजाती, दलित, अपाङ युबाहरु लगायत फरक उमेर समुहलाई पंगेनीका आखाँले खोज्दथ्यो ।

छोटो समयमै काँग्रेसको केन्द्रिय राजनीतिमा पनि राम्रो प्रभाव जमाउनुभएका कमल अंकलले गुटगत राजनीतिको अन्त्य, समझदारीपुर्ण राजनीति जिल्ला कार्य समितीमा समावेशी नेतृत्व र समय दिने व्यक्तिलाई प्राथमिकता लगायतका बिषयमा वडो ख्याल गर्नुहुन्थ्यो । स्याङ्जाको नगर र गाउँका वडाहरुमा काँग्रेसका कार्यक्रमहरु, विविध शुभ साईतका पुजा, विवाह, ब्रतबन्ध, कुलपुजा वा दुखको क्षणमा, शोकमा परेको बेलामा स्याङ्जाली जनताले उहाँको उपस्थितीका लागि बाटो हेरेर बसिरहन्थे ।


                                                          भूकम्पपीडितलाई राहत वितरण गर्दै स्व. पंगेनी । फाइत तस्बिर ।

उहाँ बिकासप्रेमी नेता समेत हुनुहुन्थ्यो । स्याङ्जाको बिकासमा उहाँको अतुलनिय योगदान रहेको छ । उहाँ सासंद रहँदा बजेट बिनियोजन भएका कयौं योजनाहरु अहिले पनि निर्माणाधीन अवस्थामा छन् । जिल्लाकै अन्य नेताले समेत उहाँले गरेको कार्यमा आफुले जस लिन खोज्दा उहाँ दुखी र चिन्तित समेत हुनुहुन्थ्यो । मलाई सम्झना छ, पंगेनी अंकलले एकपटक योजना गाउँ जिल्ला हुँदै केन्द्रमा लगेर रातो किताबमा आफ्नो प्रक्रियागत पहलमा हालेको तर अर्को एक जना नेताले जस लिन खोज्दा उहाँले ढाटेर अर्कै ठाउँ भनिदिनुभएको र जस लिने नेताले ‘महिले योजना राखेको छु’ भनेर आफ्नो लोकप्रियता देखाउन खोजेपनि त्यो सम्भव नबनाएको उहाँले म सँग बताउनुहुन्थ्यो । जिल्लाकै कतिपयले नेताले गाउँको बिकासमा लाग्दा असहयोग गरेतापनि उहाँ कहिल्यै पनि पछि हट्नुभएन् ।

हरेक मान्छेले राजनीतिक यात्रामा संघर्ष, सम्मान, बिरोध, समर्थन, आलोचना, सहयोग र सहयात्राका घुम्तीहरु राजनैतिक यात्राको सक्रियताको बीचमा प्राप्त गर्नु जिबित राजनीतिक यात्रीको लागि सामान्य नै हो । तर परमधाम पछि जो कोहिको सकारात्मक मात्र चर्चा गर्ने पूर्वीय दर्शनको बिपरित आम जनताको बीचमा जीबित हुँदै निरन्तर सम्मान पाउनु भएका पंगेनीले फरक नियती भोग्नु पर्‍यो ।

उहाँको दोश्रो स्मृति दिवससम्म आइपुग्दा उहाँको योगदानको स्मरण र बैचारिक विचारको अनुसरणको त कुरै छाडौं, नेपाली काँग्रेसको जिल्लाबाट संस्थागत निर्णय भएको उहाँको प्रतिमा स्थापना गर्ने निर्णयले समेत पुर्णता पाउन सकेको छैन् भने उक्त कार्यका लागि आम काँग्रेसीबाट नै चलखेल छ, भन्ने कुरा जिल्ला तहका सबै कार्यकर्ताले बुझिसके ।

                                            संविधान सभाको बैठकमा प्रतिनिधित्व गर्नुहुदैं स्व. नेता पंगेनी । फाइत तस्बिर

उहाँको स्मृतिमा प्रतिष्ठान स्थापना, प्रतिष्ठान मार्फत खेलकुद र बैचारिक बहस कार्यक्रम, ‘जनता संग कमल पंगेनी संवाद अभियान जस्ता कार्यक्रमले जनतासँग गाउँगाउँमा जोड्ने कार्यक्रम, युवा र महिलाहरुलाई सिपमुलक तालिम, गरिब असाहयलाई छात्रबृति कोर्स लगायत प्रशस्त कार्यक्रमहरु गर्न सकिने भएपनि जानाजान ‘बाघको रिसले खनिया चिथोर्ने’ हरुको भिडबाट न्यायको अपेक्षा ब्यर्थ नै होला तर आम जनताको मनमा रहेको तपाईंको अमिट छाप र तपाईंप्रतिको  सम्मान , तपाईंको राजनीति गर्ने शैली र बैचारिक विचार सधै जीवन्त र अनन्तकालसम्म काँग्रेसजनको साथमा तपाईको चिनो र हाम्रो आदर्श बनिरहने छ ।

स्याङजा काँग्रेसमा मात्र नभई राष्टिय राजनीतिमै उहाँको जुझारु, समन्वयकारी खुबी, बैचारिक स्पस्टता, निःस्वार्थ खटाइ र राजनीति गर्ने कलाको अभाव स्याङ्जाको राजनीतिमा सदैव तपाईको अभाव खट्नेछ । नेपाली काँग्रेसको जिल्ला स्तरको राजनीतिमा उहाँ जत्तिको सबैलाई मिलाउन सक्ने नेतृत्व, शालिन स्वभाव, राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति चिन्तित, सबै समूहलाई मिलाउन सक्ने  एक होनाहार नेता गुमाउनुपर्दा आज नेपाली काँग्रेस स्याङ्जा टुहरो जस्तै बनेको छ । तसर्थ : उहाँले देखाउनुभएको बाटो, उहाँका सिद्धान्तलाई अनुसरण गरेर समग्र स्याङ्जा काँग्रेस र हामी सबैजना एकजुट हुन सके मात्र उहाँप्रति सच्चा श्रद्दाञ्जली हुनेछ।

(लेखक नेपाल विद्यार्थी संघ स्याङ्जाका सभापति हुन् । )

More News last news
Loading...