काठमाडौँ । नेपालकै चर्चित हाँस्य टेलिशृखला ‘मेरी बास्सै’का लोकप्रिय कलाकार ‘हुरहुर’लाई नचिन्ने दर्शक कमै होलान् । टेलिशृखला जस्तै हुरहुर पनि लोकप्रिय छन् । हुन त उनले मेरी बास्सैमा आउनु अगाडि पनि विभिन्न हाँस्य शृखला र चलचित्रहरुमा अभिनय गरेका थिए। ‘मेरी बास्सै’मा ‘हुरहुर’को नामले दर्शकमाझ चिनिएका कलाकार दिलिप तामाङ पूर्वको उदयपुरका स्थायी वासिन्दा हुन् ।
पूर्वको उदयपुरगढी गाउँपालिका–३ उदयपुरमा २०४९ सालमा जन्मिएका तामाङ बाबुआमाको कान्छो छोरा हुन् । पढाइमा अब्बल भएपनि लोक सेवा पढ्ने, आर्मीमा भिड्ने र सरकारी जागिर खाने मन भने उनमा कहिल्यै जागेन । उनले आफू ०६६ सालमा काठमाडौँ प्रवेश गरेपछि नै कलाकारिताको भूत सवार भएको बताए।
यसरी जन्मियो मेरी बास्सैमा हुरहुर
मेरी बास्सैमा आउनु अगाडि नै कमेडी र ठुला पर्दाका चलचित्रमा पनि काम गरेका दिलिप करिब एक वर्ष अगाडि मात्रै मेरी बास्सैमा आएका हुन् । उनले मेरी बास्सैमा आएपछि आफ्नो नाम आफैँले जुराएको बताए । उनी भन्छन्, मैले खासमा केही सोचेर राखेको होइन, गाउँघरतिर बाल्यकालमा रमाइलो गर्दा हुरर, आहै भन्ने गरिने शब्दलाई नै नाम बनाएको हो । अहिले त्यही नाम भाइरल भयो । दिलिपलाई अहिले आफ्नै नामले भन्दा धेरै हुरहुर भनेर बढी चिन्छन् ।
‘पहिलो काममा तलब होइन उल्टै मैले तिर्नुपर्ने भयो’
काठमाडौँ आउनासाथ हुरहुरले आफ्नै पौरखमा एउटा काम फेला पारे । जसमा उनको काम थियो नेपाली टाईप गर्ने । तर लोडसेटिङ्ले आक्रान्त भएको समयमा काठमाडौँमा मध्यरातमा ६ घण्टा बाहेक प्राय बत्ति आउँदैनथ्यो । यसका कारण हुरहुरको काम टाईप गर्ने भन्दापनि १८ घण्टाको लोडसेटिङका बेला ६ घण्टा बत्ति आउँदा छापिएका पेपरहरु पुर्याउने बन्यो ।
हुरहुर भन्छन्, “भर्खर नेपाली टाइप गर्न सिकेर काममा लागेको त्यो पनि लोडसेटिङले बिगार्यो । राति छापिएका पेपर र डकुमेन्टहरु दैनिक पुर्यायन जान्थेँ । मलाई त्यो अफिसले एउटा साइकल पनि दिएको थियो । मैले साइकल लिएर सामान पुर्याउन जान्थेँ ।”
‘एक दिन साइकल कोठा अगाडि लगेर राखेँ र राति सुतेँ। भोलिपल्ट उठेर हेर्दा साइकल नै छैन। साइकल चोरी भएछ । अनि अफिसमा गएर भनेँ । अब साइकलको मूल्य नै कटाएपनि केही पैसा आउला नि भनेको त उल्टै ५–६ सय रुपैयाँ मैले तिर्नुपर्ने पो रहेछ । म त सिधै काम छोडेर हिनेँ’ उनी थप्छन्।
पूरा भिडियो हेर्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
