नारायणगढ–मुग्लिङ सडकखण्डमा गाडी सुचारु, दमौली-डुम्रे सडक बन्द

काठमाडौँ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ। पहिरो पन्छाएर बाटो बनाइएकाले यो सडकखण्डमा गाडी चल्न थालेका प्रहरीले जनाएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो खसेपछि हिजो बिहानदेखि अवरुद्ध सडक रातिदेखि दुईतर्फी नै खुलेको हो।

Advertisement

यस्तै पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्डमा एकतर्फी रुपमा गाडी चल्न थालेका छन्। पहिरोका कारण बन्द यो सडकखण्ड गए रातिदेखि एकतर्फी रुपमा खुलेको हो।

दमौली–डुम्रे सडकखण्डमा सवारी प्रवेशमा रोक

पृथ्वीराजमार्गअन्तर्गत दमौली डुम्रे सडक खण्डमा शनिबार सबै सवारी प्रवेशमा रोक लगाइएको छ। शुक्रबार र शनिबार ठूला सवारीबाहेक साना सवारीलाई प्रवेशमा अनुमति दिने जिल्ला प्रशासनको निर्णय भए पनि पुनः समस्या आएकाले सबै सवारी प्रवेशमा रोक लगाइएको हो।

वैकल्पिक मार्गमा शुक्रबार ग्राबेल राखी सवारी सञ्चालनमा ल्याएको भए पनि ग्राबेल कम प्रयोग गरेका कारण समस्या आएकाले सबै सवारीलाई आज एक दिन रोक्नुपरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

अविरल वर्षापछि बन्दीपुर गाउँपालिका–१ स्थित नाहालामा सडक नै भाँसिएर पहिरो गएपछि वैकल्पिक मार्ग निर्माण गरिएको हो । उक्त मार्गमा ग्राबेल नगरिँदा सवारी फसेर अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले यसअघि पनि ठूला सवारीलाई दुई दिन प्रवेशमा रोक लगाएको थियो।

More News last news
Loading...