भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौँ । सरकारको निर्णयअनुसार भोलि (सोमबार)देखि सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन्।

सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलिदेखि यातायात सञ्चालन गर्न तयार भएका हुन्।

Advertisement

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलिदेखि यातायात सञ्चालन गर्ने बताएका छन्।

विभागका महानिर्देशक गोगन बहादुर हमालले भोलि (सोमबार) बिहानबाट यातायात सञ्चालन गर्ने बताए। सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उनले बताए।

कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे। सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए।

नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उनले बताए।
अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन्। उपत्यकाको हकमा काठमाडौँ, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन्।

अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन्। व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन्।

More News last news
Loading...