के रुसले कोरोनाविरुद्धको पहिलो भ्याक्सिन बनाएको हो त ?

नोभेल कोरोनाभाइरसले अहिलेसम्म विश्वमा एक करोड २८ लाख बढीलाई संक्रमित पारिसकेको छ र यो भाइरसका कारण निम्तिएको रोग कोभिड–१९ का कारण करिब पाँच लाख ५५ हजारको मृत्यु भइसकेको छ।

यो भाइरसको करिब सात महिना लामो प्रकोपपछि रुसले आफ्ना वैज्ञानिकले कोरोनाभाइरसको पहिलो भ्याक्सिन बनाएको दाबी गरेको छ।

Advertisement

रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार इन्स्टिच्युट फर ट्रान्सलेशनल मेडिसिन एन्ड बायोटेक्नोलोजीका निर्देशक वादिम तरासोवले संसारको पहिलो कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक पूरा भएको बताएका छन् ।

उनले भने, ‘मस्कोस्थित सरकारी मेडिकल युनिभर्सिटी सेचेनोफले यो ट्रायल गरेको हो र यो भ्याक्सिन मानिसमा सुरक्षित छ । जुन व्यक्तिमा भ्याक्सिन प्रयोग गरिएको छ, उनीहरुको एक समूहलाई १५ जुलाई र दोस्रो समूहलाई २० जुलाईमा अस्पतालबाट छुट्टी दिइनेछ ।’

युनिभर्सिटीले १८ जूनमा रुसको गेमली इन्स्टिच्युट अफ एपिडेमियोलोजी एण्ड माइक्रोबायोलोजीद्वारा निर्मित यो भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु गरेको थियो ।

सेचेनोफ युनिभिर्सिटीका एक अन्य वरिष्ठ अधिकारी एलेक्जेन्डर लुकाशेवका अनुसार भ्याक्सिन ट्रायलको यो चरणको उद्देश्य भ्याक्सिन मानिसहरुका लागि सुरक्षित छ, छैन भनेर सुनिश्चित गर्नु थियो । उनले ट्रायल सफलतापूर्वक पूरा भएको र सुरक्षित भएको बताएका छन् ।

लुकाशेवले भ्याक्सिनको व्यापक उत्पादनका लागि के कस्ता तयारी गर्नुपर्ने हो त्यसको रणनीति तयार भइरहेको जानकारी दिएका छन् ।

वादिम तरासोवले भने, ‘महामारीका समयमा सेचेनोफ युनिभर्सिटीले एक शैक्षिक संस्थाको रुपमा मात्रे नभई वैज्ञानिक र प्राविधिक अनुसन्धान केन्द्रको रुपमा पनि काम गरेको छ । यो युनिभर्सिटी औषधीजस्तो महत्वपूर्ण र जटिल वस्तुको उत्पादनमा पनि सक्षम भएको छ ।’

संसारभरी ७० लाख मानिसहरु कोरोनाभाइरसद्वारा संक्रमित भएपछि पूर्ण रुपमा निको भइसकेका छन् ।

More News last news
Loading...