बेनी । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन्।
घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।
भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएको उनले बताए । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । त्यहाँका चार घर विस्थापित भएका छन् ।
यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
