उपत्यकाकै ढलमा कोरोना भाइरस, भित्रभित्रै संक्रमण फैलिएको आशंका

काठमाडौँ । उपत्यकाको ढलमा कोभिड-१९ को भाइरस फेला परेको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड-१९ को भाइरस फेला परेको हो।

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो। अध्ययनको लागि काठमाडौँ उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो।

Advertisement

उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताए। उनका अनुसार अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ । जस अनुसार केही देशमा यस्ता अध्ययनहरु भइसकेका छन् । नेपालमा पनि सोही आधारमा अध्ययन गरिएको उनले बताए ।

‘नेपालमा पनि संक्रमणको दर बढ्दै जाँदा हामीले ढलको स्याम्पल ल्याएर अनुसन्धान गर्यौं, जसबाट चार ठाउँमध्ये दुई ठाउँमा कोभिड-१९ को भाइरस रहेको फेला पार्यौं,’ डाक्टर कर्मचार्यले भने।

उनले थपे, ‘कुनै एक जना व्यक्तिको दिसा ल्याएर परीक्षण गरिएको होइन्, पूरै वस्तीको ढलको नमूना ल्याइएको हो, पूरै वस्तीका मानिसमध्ये जसलाई पनि (धेरैलाई, तर सबैलाई होइन)संक्रमण हुन सक्छ।’

यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डाक्टर कर्मचार्य बताउँछन् । यसरी अध्ययन गर्दा संक्रमण फैलिइएको क्षेत्रको पहिचान हुने उनी बताउँछन्। जसको कारण समुदायमा संक्रमण पत्ता लगाउन परीक्षण गर्दा किटहरु समेत बचत हुनेछ।

उनको अनुसार यो अध्ययनलाई आधार मानेर ढलमा संक्रमण देखिएको क्षेत्रको मानिसमध्येबाट जोखिम समूह छ्ट्याएर परीक्षण गर्न सकिन्छ। त्यो गर्दा उपत्यकाका सबै ठाउँका सबै मानिसको परीक्षण गर्न जरुरी हुँदैन । ‘यस्तो अध्ययनले संक्रमण फैलिएको क्षेत्र थाहा भइहाल्छ, त्यो थाहा पाएपछि पहिला दीर्घरोगी, वृद्धहरु र जोखिम समूहका मानिसलाई प्राथमिकता दिएर परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘यसो गर्दा राज्यको धेरै किट, जनशक्ति, स्रोत र खर्च बच्छ ।’

प्रारम्भिक अनुसन्धानमा नै यस्तो तथ्य फेला परेपछि नतिजा सार्वजनिक गरिएको उनले बताए । ‘हामी अझै धेरै ठाउँको ढलको नमुना परीक्षण गरेर विस्तृत अध्ययन गर्छौं,’ उनले भने।

More News last news
Loading...