पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
यससँगै संक्रमितको संख्या १४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १४ हजार ४६ जना संक्रमित भएका छन्। उनीहरूमध्ये ३० जनाको मृत्यु भएको छ भने ४ हजार ६५६ जना डिस्चार्ज भएका छन्।
कहाँ–कहाँ थपिए संक्रमित ?
मन्त्रालयका अनुसार सबैभन्दा धेरै अछाममा १३५ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै, बाजुराका ४३, महोत्तरी ३६, कैलाली २७, सुर्खेत २२, धनुषा २१, कञ्चनपुर र डोटीका २०/२० जना, बझाङका १८, सल्यानका १५, झापाका १३, बाँके र बर्दियाका ११/११ जना र लमजुङका १० जना संक्रमित भएका छन्।
यस्तै, स्याङ्जा र गुल्मीका ८/८ जना, कास्की, गोरखा, बाग्लुङका ३/३ जना, सिराहा, इलाम, मोरङ, नवलपुर, दाङ, पाल्पा, दैलेख र कालीकोटका २/२ मा संक्रमण पुष्टि भएको छ । ताप्लेजुङ, सुनसरी, नवलपरासी बारा, पर्सा, नवलपरासी, पर्वत, तनहुँ, अर्घाखाँची, जुम्ला, बैतडी र अछामका एकएक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
उपत्यकामा भेटिए १७ संक्रमित
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्र १७ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ५ महिला र ५ पुरुष, ललितपुरका ३ महिला र दुई पुरुष तथा भक्तपुरका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
