काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ।
सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेष्टर परीक्षाबारे निर्णय गर्ने बताए।
‘कार्यदलले दिएको सुझावको आधारमा हामीले परीक्षाका बारेमा निर्णय गर्ने छौँ’, उनले भने, ‘अहिलेसम्म सेमेष्टर प्रणालीका परीक्षाका बारेमा कुनै निर्णय गरेका छैनौँ।’ कोभिड-१९ को कारणले त्रिविको स्नातक तहको दोस्रो, चौथो तथा स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेष्टरको परीक्षा स्थगित भएको थियो।
वार्षिक परीक्षा सञ्चालन हुने
परीक्षा नियन्त्रक जोशीले वार्षिकअन्तर्गतका परीक्षा भने स्थिति सामान्य भएपछि सञ्चालन गरिने जानकारी दिए। परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेकोले बन्दाबन्दी हटेपछि नियमित परीक्षा गरिने उनले बताए।
‘अहिले सबै विद्यार्थी घर गएका छन्। बन्दाबन्दी खुलेर यातायात सहज भएपछि विद्यार्थी आउने वातावरण हुन्छ’, जोशीले भने, ‘अनि विद्यार्थीलाई केही समय बाँकी राखेर पुनः परीक्षाको कार्यतालिका सार्वजनिक गर्नेछौँ।’
त्रिविले गत चैत ७ गतेदेखि कोभिड-१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो।
यसैगरी पनिकाले बन्दाबन्दीको बीचमा १४ वटा तहका परीक्षाफल प्रकाशित गरेको छ। गत वैशाख २० गतेबाट कार्यालय कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
