प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ ।
प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना तथा पर्सा जिल्लामा दुई जनामा सङ्क्रमण भेटिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टिनमा १९, २२ र ३५ वर्षका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । यसैगरी, महोत्तरीको सम्सी नगरपालिकामा १४ वर्ष देखि ३३ वर्षका चार जना पुरुष, औरही नगरपालिकाको क्वारेन्टिनमा एक वर्षकी एक बालिका र एकै वर्षका अर्का एक बालकसहित ३९ देखि ४५ वर्षका १० जना तथा लोहपट्टी नगरपालिकामा २० वर्षदेखि ३८ वर्षसम्मका १० जना पुरुषमा सङ्क्रमण भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरी, पर्साको कामु प्यालेस होटलमा ३२ वर्षका पुरुष तथा ३२ वर्षका महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका सचिव डा घिमिरेले जानकारी दिनुभयो । पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकासहित सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार १९ जना पुगेको छ । जसमा २०० महिला तथा तीन हजार ११९ जना पुरुष रहेका छन् । पछिल्लो पटक सङ्क्रमितबाट घर परिवारमा पनि सरेकाले बालबालिकामा सङ्क्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले जानकारी दिनुभयो । सङ्क्रमितहरु घर परिवारको सम्पर्कमा आउनु चिन्ताको विषय भएको उहाँले उल्लेख गर्नुभयो ।
प्रदेश नंं २ को विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचारमा रहेका २४ जना कोरोनाका बिरामीहरु सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ४१५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
