कुनैबेला प्लेन उडाउँथे, अहिले ‘डेलिभरी ब्वाई’ छन्

काठमाडौँ । कोरोना भाइरसका कारण विश्वभरि आर्थिक मन्दीको अवस्था देखिएको बेला थाइल्यान्डमा एक पाइलटले जीविकोपार्जनका लागि नयाँ काम भेटेका छन्। आर्थिक मन्दीका कारण उनले पाइलटको जागिरबाट बाहिरिनु परेको थियो।

तर, उनले परिवारको पेट पाल्नका लागि नयाँ कामको खोजी गरे। कुनै बेला आकाशमा चिल सरह उड्ने उनै पाइलट अहिले स्कुटर चढेर घरघरमा खानाको सामान पुर्‍याउँछन्। अर्थात उनले मन्दीको अवस्थामा आफूलाई ‘डेलिभरी ब्वाई’ को रुपमा ढालिसकेका छन्।

Advertisement

४२ वर्षीय थाई पाइलट नाकारिन इन्टा ४ वर्षदेखि कमर्शियल पाइलटको रुपमा कार्यरत थिए। तर, कोरोनाले उनको भूमिका फेरिदिएको छ। ‘सिएनएन ट्राभल’ लाई उनले दिएको अन्तर्वार्तामा भनेका छन्,‘एयरलाइन्समा धेरै कर्मचारीलाई तलब नदिई छुट्टि दियो। र जतिले तलब पाए, त्यो पनि न्युनतम। धेरैलाई जागिरबाट निकालिएको छ।’

उनले अफ्ठेरो अवस्थामा धेरै साथीहरूले अन्य काम अंगालिरहेको बताए र भने, ‘सबै जना जागिरमा फर्किन आतुर छन्। यसमा केही साथीहरू छन्, जसको जागिर गएको छैन। तर, उनीहरूलाई आवश्यक उडानको पैसा मात्र दिइएको छ।’

उनले जागिरमा हुँदा आफूले १० लाख नेपाली रुपैयाँसम्म कमाउने गरेको बताए। तर, कोरोना संक्रमणको महामारीका कारण आफूलाई २ हजार आम्दानी गर्न पनि गाह्रो परिरहेको बताए।

उनले खाना ‘डेलिभरी’ गर्न बाहिर निस्किदा आफूलाई अन्य साथी, कप्तान, केविन क्रू, डिस्प्याचर र अन्य कर्मचारीको धेरै नै सम्झना आउने गरेको बताए। ‘म धेरै भावुक हुँदा आकाशमा उडिरहेको विमानलाई हेर्छु,’ उनले भने।

उनले सानोदेखि नै आफूलाई पाइलट बन्ने इच्छा भएको पनि बताए। पाइलटको नोकरीबाट निकालिएपछि खाना पुर्‍याउन घर–घरमा गएको अनुभव सुनाउँदै उनले भने, ‘जब मैले पहिलो पल्ट अर्डर पठाउने अवसर पाए र ग्राहकको घर पुगेर सामानको ‘डेलिभरी’ दिए, यसपछि मलाई लाग्यो म यो काम पनि गर्न सक्दो रहेछु।’उनी फेरि विमान उडाउन लालायित छन्।

More News last news
Loading...