काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न दलका नेताहरुलाई शीतलनिवास बोलाएकी छन् ।
राष्ट्रपति कार्यालयले रात्रिभोजको व्यवस्थासहित सबै दलका नेताहरुलाई आमन्त्रण गरिएको बुझिएको छ । राष्ट्रपति कार्यालयको सचिवालयले भने यस विषयमा कुनै जानकारी नभएको जनाएको छ ।
नेताहरूलाई साँझ पाँच बजे आइपुग्ने गरी निम्ता गरिएको छ । अहिलेको कोरोना भाइरसको महामारीपछिको अवस्था र पछिल्लो गतिविधिका विषयमा कुराकानी गर्न हुनसक्ने स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयमा उपस्थित हुन नेकपाका अधिकांश नेताहरूलाई निम्ता पुगेको पाइएको छ ।
राष्ट्रपति देशको अभिभावक बन्नुपर्ने तर एक पार्टीको मात्र बनेको भन्ने कुरा उठिरहेको छ । राष्ट्रपति कार्यालयले आयोजना गरेको रात्रिभोजसहितको बैठकका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नेकपाका स्थायी कमिटीसम्मका केही नेतालाई बोलाइएको छ ।
कांग्रेससहितका अन्य केहि दलका नेतालाई पनि शीतलनिवास बोलाइएको छ । केहीदिन अघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै भेटेकी राष्ट्रपति भण्डारीले सचिवालयका अन्य नेताहरुसँग पनि निरन्तर छलफल गरिरहेकी छन् ।
उनको सक्रियतालाई नेकपाका नेताहरुले ओली पक्षलाई बलियो बनाउने रणनीतिमा लिने गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
