सन् २०२० को डिभीमा छनौट भएकाले भिसा नपाउने पक्का

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को अन्त्यसम्मका लागि कामदार भिसा र अधिकांश आप्रवासी भिसामा रोक लगाएपछि सन् २०२० का लागि डिभीमा छनौट भएकाहरुले भिसा नपाउने भएका छन् । अप्रिल २३ देखि लागु गरिएको आप्रवासन भिसाको प्रतिबन्ध बढाएर डिसेम्बरको अन्त्यसम्म बनाइएको छ ।

सन् २०२० को डिभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु भिसाको प्रतिक्षामा रहेका थिए । उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्मा भिसा पाइसक्नुपर्ने नियम रहेकोमा डिसेम्बरको अन्त्यसम्म लगाएको आप्रवासन रोकले उनीहरुले भिसा नपाउने निश्चित भएको छ । सेप्टेम्बरसम्म भिसा नपाएपछि सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ ।

Advertisement

सन् २०२१ को डिभीका लागि छनौट भएकाहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्ने नियम रहेपनि आप्रवासन रोकका कारण अब उनीहरुको भिसा कम्तीमा सन् २०२१ को जनवरीसम्मका लागि स्थगित भएको छ । सन् २०२० को डिभी लोटरीका लागि भिसा फर्म भरेर अन्तरवार्तामात्र कुरेकाहरुको सन्दर्भमा भिसा शुल्क के हुने भन्नेबारे केही बताइएको छैन।

अप्रिल २३ मा ट्रम्पले आप्रवासनमा रोकको घोषणा गरेयता मे महिनामा विश्वभरबाट कोहीपनि डिभी लोटरी विजेताहरुलाई भिसा दिइएको छैन । मे महिनामा ६९७ जनाले आप्रवासी भिसा पाएपनि अधिकांश भने अमेरिकी नागरिकका दम्पत्ति र २१ बर्ष उमेर नपुगेका छोराछोरीहरुमात्र रहेका छन् ।

अमेरिकाको आप्रवासी भिसा पाइसकेका सयौं डिभी विजेता नेपालीहरु कोरोनाको महामारीका कारण नेपालमा नै अड्कीएका छन् । उनीहरुको भिसाको अवधि ६ महिना नाघेपछि नयाँ भिसा जारी हुने नहुनेबारे पनि केही बताइएको छैन ।

मार्च महिनाको झण्डै दुईसाताको अवधिमा १८८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मार्च १७ पछि भने अमेरिकी दूतावास काठमाडौंले डाइभर्सिटी भिसा र गैर आप्रवासी भिसाका अन्तरवार्ताहरु स्थगित गरेको थियो । तर अन्तरवार्ता स्थगित हुनु अगाडि मार्चमहिनामा प्राथमिक डिभी विजेता ११२ जना, उनीहरुका दम्पत्ति ४२ जना र २१ बर्ष नपुगेका छोराछोरीहरु ३४ जना नेपालीले भिसा प्राप्त गरेका थिए ।

More News last news
Loading...