लकडाउनका कारण सुनचाँदी व्यवसाय संकटमा, आर्थिक प्याकेज ल्याउन सरकारसँग माग

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणसँगै सुनचाँदी व्यवसाय संकटमा परेको छ । लगभग ६० अर्व रुपैयाँ लगानी रहेको सुनचाँदी व्यवसाय कोरोनाका कारण धरासयी बन्दै गएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले, “यति ठुलो लगानी रहेको सुनचाँदी व्यवसायलाई संकटबाट बचाउन सरकारसँग थप सहुलियत पूर्ण ऋण, ब्याज र दस्तुर मिनाहाको माग गरेको छ । महासंघका प्रवक्ता मनोज कुमार साहद्वारा विज्ञप्तिमा भनिएको छ, गतवर्ष देखिनै सुनको भाउमा आएको उच्च वृद्धिका कारण थिलोथिलो भएका सुनचाँदी व्यवसाय पछिल्लो ३ महिनादेखि भएको लकडाउनका कारण झन् संकट्ग्रस्त भएको छ । लकडाउनकै कारण सुनको मूल्य झण्डै प्रतितोला ९० हजार नजिक रहि हालसम्मकै उच्च बिन्दूमा छ । हाल भइरहेको नेपाली मुद्राको अवमूल्यन राजस्व भन्सार अभिवृद्धिले सुनको मूल्यलाई थप महँगो बनाएको हो । यस्तो अवस्थामा लकडाउनका कारण खर्च अभाव झेलिरहेका सर्वसाधारणको घुईँचो फिर्ता बिक्रीका लागि एकैचोटी आएमा बजारले थेग्न सक्ने अवस्था रहँदैन ।”

Advertisement

महासंघले कोरोनाको महामारीको प्रभावबाट सुनचाँदी व्यवसायमा उत्पन्न भएको विशेष परिस्थितीको सामना गर्दै स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सुनचाँदीको बजारलाई सामान्यीकरण गर्न व्यवसायी आम उपभोक्ता र नेपाल सरकारबाट आवश्यक साथ र सहयोग अपेक्षा समेत गरेको जनाएको छ ।

सरकारलाई १५ लाख सहयोग

नेपाल सुनचाँदी व्यवसायी महासंले नेपाल सरकारलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ। कोरोनाको महासंकटका बेला सामाजिक उत्तरदायित्वलाई आत्मासाथ गर्दै नेपाल सरकार प्रधानमन्त्री राहत कोष मार्फत महासंघले १५ लाख रुपैयाँ सहयोग गरेको हो ।

यस्तै यस महासंघ मातहतका ६५ वटा जिल्ला, नगर/संघ मार्फत रु एक करोड ८ लाख रुपैयाँ बराबरको राहत वितरण कार्य गरिरहेको प्रवक्ता साहले बताएका छन् । 

 

More News last news
Loading...