१४ खर्ब ७४ अर्बकाे बजेट, कुन क्षेत्रमा कति विनियाेजन ? (पूर्णपाठ)

काठमाडाैँ । सरकारले आउँदो वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

यसमध्ये चालुतर्फ नाै खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ खर्च विनियोजन भएको छ ।

Advertisement

स्वास्थ्य क्षेत्रकाे बजेट बढ्याे

गएको वर्षमा भन्दा यो वर्ष स्वास्थ्य क्षेत्रमा भण्डै २२ अर्बले बजेट बढेको छ । यो वर्ष सरकारले स्वास्थ्य क्षेत्रको लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये ६ अर्ब कोरोना सङ्क्रमण नियन्त्रणको लागि मात्रै विनियोजन गरिएको छ । गएको आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रकाे लागि ६८ अर्ब ७८ करोड विनियोजन गरेको थियो ।

शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड ​

सरकारले यो वर्ष शिक्षाको क्षेत्रमा बजेट बढाएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आउँदो आर्थिक वर्षको लागि शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरेको जानकारी दिनुभयो । यो पोहोरकोभन्दा ८ अर्ब ७१ करोडले बढी हो । पोहोर सरकारले शिक्षाका लागि १ खर्ब ६३ अर्ब छुट्याएको थियो । यस्तै यो वर्ष पनि छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड, दिवा खाजा विस्तार लगायतका पुराना कार्यक्रमलाई नै निरन्तरता दिएको छ । यस्तै सरकारले शैक्षिक सत्रको सुरुमै विद्यार्थीलाई पाठ्यपुस्तक पु¥याउन २ अर्ब ७६ करोड विनियोजन गरेको छ ।

पर्यटन व्यवसायीकाे आयकरमा २० प्रतिशत छुट

सरकारले पर्यटन व्यवसायीलाई आयकरमा २० प्रतिशत छुट दिने भएको छ । बजेट भाषणमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले कोरोनाले प्रभाव पारेको पर्यटन क्षेत्रका व्यवसायीहरुलाई चालु आर्थिक वर्षको आयकरमा २० प्रतिशत छुट दिने बताउनुभयो । खतिवडाले हवाई सेवा, होटल, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवयासीलाई आर्थिक वर्ष २०७६/७७ को आय विवरण अनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिइने बताउनुभयो ।

सञ्चारमाध्यम

सरकारले रेडियोमा रोयल्टी छुट र अनलाइनलाई लोककल्याणकारी विज्ञापन दिने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री युवराज खतिवडाले सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमलाई पनि उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

यस्तै सरकारले नेपाल टेलिभिजनको क्षमता विस्तार गरी अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने घोषणा गरेको छ । यस्तै साइबर सुरक्षा केन्द्र स्थापनाका लागि सम्भाव्यता केन्द्र स्थापना हुने भएको छ । सरकारले आफ्नै स्याटलाइटको व्यवस्था गर्ने भएको छ ।

यसैबीच सरकारले सूचना प्रविधिमा आधारित उद्योगको व्यवस्थापन गर्ने भएको छ । डिजिटल फ्रेमवर्कमार्फत सबै पालिकामा आउँदो आर्थिक वर्षभित्र भरपर्दो इन्टरनेट सुविधा उपलब्ध गराउने पनि सरकारले घोषणा गरेको छ । यस्तै सरकारले सबै प्रदेशमा सञ्चार ग्राम बनाउने घोषणा गरेको छ ।

आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अनुमान

सरकारले आउँदो आर्थिक वर्ष २०७७/७८ मा ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । कोरोनाको कारण सबैजसो क्षेत्र प्रभावित हुने भएपनि सरकारले बजेटमार्फत आउँदो आर्थिक वर्षको लागि ७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको हो ।

चालु आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशतको वृद्धिको लक्ष्य लिइएकोमा त्यसलाई घटाएर २ दशमलव ३ प्रतिशतमा झारिएको छ । भूकम्पपछिका ३ वर्षमा सरकारले लगातार झण्डै ७ प्रतिशतको दरले आर्थिक वृद्धिदर हासिल गरिरहेको छ । तर आउँदो आर्थिक वर्ष भने कोरोना भाइरसको कारण वृद्धिदर नकारात्मक हुनेसम्मको प्रक्षेपण भइरहेको छ । तर अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षणमा २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर हुने उल्लेख छ ।

८ अर्ब ८९ अर्ब राजस्व उठाइने

आउँदो आर्थिक वर्षको १४ खर्ब ७४ अर्ब रुपैयाँको स्रोत जुटाउन सरकारले ८ खर्ब ८९ अर्ब ६२ रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । राजश्वबाट अपुग रकमको लागि वैदेशिक सहायता र ऋण उठाइने आउँदो आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेटमा उल्लेख छ ।

सरकारले ६० अर्ब ५२ करोड रुपैयाँ वैदेशिक अनुदान आउने अनुमान गरेको छ । बजेट कार्यान्वयन गर्न अपुग हुने ५ खर्ब २४ रुपैयाँमध्ये वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब र २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने बजेटमा उल्लेख छ ।

कर्मचारीकाे अतिरिक्त भत्ता कटाैती

सरकारले कोरोना नियन्त्रणकाे लागि खर्च कटौती गर्ने भएको छ । बजेटमार्फत कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मतलगायतका खर्चमा उल्लेख बजेट कटौती भएको अर्थमन्त्री डाक्टर खतिवडाले जानकारी दिनुभयो ।

उहाँले कोरोनाको उपचार र रोकथाममा खटिनेबाहेक चिकित्सक, स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवकबाहेक अरुलाई दिइने प्रोत्साहन, जोखिम, अतिरिक्त समय भत्ता, खाना, खाना भत्तालगायतका भत्ता खारेज हुने भएका छन् । अत्यावश्यक सेवा दिने कार्यालयका बाहेकका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ती रोक्का भएको छ ।

काेराेनाका बेला काममा खटिने कर्मचारीलाई प्राेत्साहन भत्ता

सरकारले कोरोनाको जोखिमका बेला ‘फ्रण्टलाइन’मा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । यसका लागि नयाँ आर्थिक वर्षमा बजेट विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

यस्तै निजी आवास निर्माण र छोराछोरीलाई अध्ययन गर्न सहुलितय दरको ऋणको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी आउँदो आर्थिक वर्षमा कर्मचारीको १ लाखसम्मको कोरानो बीमा निःशुल्क गर्ने व्यवस्था पनि सरकारले गर्ने उहाँले जानकारी दिनुभयो ।

भूकम्पपछिकाे पुनर्निर्माणकाे काम सक्न ५५ अर्ब रुपैयाँ

सरकारले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सक्न ५५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले घर, विद्यालयसहित सरकारी भवन तथा अन्य पूर्वाधारका काम आउँदाे आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने बताउनुभयो ।

त्यस्तै धरहरा, रानीपोखरीसहित सम्पदा पुनर्निर्माणको काम पनि आउँदो आर्थिक वर्षमा सक्ने उहाँले बताउनुभयो । अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनर्निर्माणका धेरैजसो काम सम्पन्न हुने चरणमा रहेको पनि बताउनुभएको छ ।

३ राजमार्ग बनाउन १८ अर्बभन्दा बढी विनियाेजन

सरकारले तीन वटा ठूला राजमार्गका लागि १८ अर्बभन्दा धेरै बजेट विनियोजन गरेको छ । पुष्पलाल राजमार्गको काम ३ वर्षमा सक्नेगरी ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

हुलाकी राजमार्ग ३ वर्षमा सक्नेगरी ७ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै मदन भण्डारी राजमार्ग निर्माणका लागि ५ वर्ष ३ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

More News last news
Loading...