काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा संविधान संशोधन विधेयक पेस भएन ।
संसद सचिवालयले मंगलबार प्रकाशित गरेको प्रतिनिधिसभा बैठकको बुधबारको सम्भावित कार्यसूचीमा कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक–२०७७’ पेस गर्ने रहेपनि बुधबार भने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा संंविधान संशोधन विधेयक पेस गर्ने विषय हटाईयो ।
कार्यसूची तय गर्ने कार्यक्षेत्र सभामुखमा हुने भएपनि के–कति कारणले संविधान संशोधन विधेयक कार्यसूचीबाट हट्यो भन्ने विषयमा सभामुखको सचिवालयले कुनै जानकारी दिएको छैन । सर्वसम्मत् पारित गराउने प्रयासस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ सर्वदलीय बैठक बोलाएका थिए ।
यद्यपी, बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो पार्टीको केन्द्रीय समितिबाट संविधान संशोधनका विषयमा निर्णय गर्न समय मागेको र मधेसवादी दलले ‘प्याकेज’मै संविधान संशोधन गर्नुपर्ने अडान राखेका थिए ।
प्रतिपक्ष दलले समय मागेको र मधेस केन्द्रित दलको अडानका कारण सरकार बुधबारको बैठकमा विधेयक पेस नगर्ने निर्णयमा पुगेको जनाइएको छ । सरकारले अद्यावधिक गरेको नेपालको नक्साअनुसार निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
