एकताबद्ध भई संशोधनका पक्षमा उभिन दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्ध रुपमा प्रस्तुत हुन र संविधान संशोधनका पक्षमा उभिन अनुरोध गरेका छन् ।

नेपालको अद्यावधिक नक्शा संविधानको अनुसूची (निशान छाप) मा राख्न संविधान संशोधन गर्ने विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा संसद्मा रहेका पार्टीका नेताहरुबीचको छलफलमा उहाँले  राष्ट्रियताका विषयमा सिङ्गो राष्ट्र विगतदेखि एकताबद्ध हुँदै आएको र त्यही एकताका बलमा सो विषयलाई टुङ्ग्याउनुपर्ने धारणा राखेका थिए ।

Advertisement

संविधानमा विभिन्न राजनीतिक दलका अडानका विषयमा आगामी दिनमा छलफल गरेर अघि बढ्न सकिने पनि प्रधानमन्त्रीले बताउनुभएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने प्रयत्नका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको मन्त्री ज्ञवालीले बताए ।

 “यो विषय तत्काल गर्नुपर्ने र ढिला गर्नु नहुने विषय भएकाले अरू विषय अहिले समावेश नगरौँ”, प्रधानमन्त्रीलाई उद्धृत गर्दै मन्त्री ज्ञवालीले बताए । संसद् अधिवेशन यही रुपमा लामो समयसम्म चलाउनु जोखिमपूर्ण भएकाले संशोधनको विषय चाँडो टुङ्ग्याउन प्रधानमन्त्रीले आग्रह गरेका थिए । छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  काँग्रेसले संशोधनका पक्षमा मत राख्न चाहे पनि छलफलका लागि थोरै समय चाहिने बताएको जनाइएको छ ।

जनता समाजवादी पार्टीले भने संशोधन प्रस्तावमा आफ्ना कुरालाई पनि समेटेको भए राम्रो हुन्थ्यो भन्ने धारणा राखेको  मन्त्री ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्री ओलीले छिट्टै कोभिड–१९ का विषयमा पनि कसरी अघि बढ्ने भनी सर्वदलीय बैठकको तयारी गरेको बताइएको छ । भूमि व्यवस्था,  सहकारी तथा गरीबी मन्त्रालयले यही जेठ ७ गते नेपालको अद्यावधिक नक्शा जारी गरेको थियो ।

सरकारले जेठ ५ गते लिम्पियाधुरासहितको नेपालको नक्शा पारित गर्ने ऐतिहासिक निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्शा स्वीकृत गरेको थियो ।

More News last news
Loading...