रुकुम घटनाले संसदमा बहस, नेकपा नेता शर्मा बोल्दा काँग्रेसले किन गर्‍यो हंगामा ?

काठमाडौं । संघीय संसदका दुबै सदनमा आज रुकुम घटनाले प्राथमितका पाएको छ । आजको दुबै बैठकमा बोल्ने सांसदहरुले रुकुमको घटनालाई प्राथमिकतासाथ उठाएका हुन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पश्चिम रुकुम घटनाको छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै काँग्रेस सांसद मीनबहादुर विश्वकर्माले २१औँ शताब्दीमा जातीय हिंसा र नरसंहार हुनु सभ्य समाजका लागि सुहाउँदो विषय नभएको भन्दै सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेका हुन् । सांसद पार्वतीकुमारी विशुन्खेले पश्चिमरुकुम घटनाले समग्र ६० लाख दलितको आत्मसम्मानमा चोट पुगेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन माग गरिन् ।  यस्तै रेणुका गुरुङले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिन् ।

Advertisement

सत्तारुढ दलका सांसद शर्मा बोल्दा हंगामा

यसैगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले घटनाको प्रकृति, यथार्थ अध्ययन गर्न जाजरकोट र रुकुमका प्रशासन अन्ततः सक्रियतापूर्वक लागेको आफूले पाएको बताए । घटनाको छानबिन गर्न कुनै राजनीतिक दबाब हुनै नसक्ने उनको भनाइ थियो । सांसद शर्माले आफ्नो धारणा राख्दै गर्दा नेपाली काँग्रेसका सांसदले आपत्ति जनाउँदै आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

काँग्रेसका सांसदको विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनाका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेका थिए । लगत्तै सभामुख सापकोटाले काँग्रेसका सांसद प्रकाश रसाइलीलाई बोल्ने समय उपलब्ध गराए ।

सांसद रसाइलीले घटनाका बारेमा गृहमन्त्रीको जवाफ चाहेको बताउँदै घटनालाई राजनीतिक प्रभावका आधारमा कमजोर बनाउन खोजिएको आरोप लगाए ।

छानबिन समिति गठन

बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताए । जाजरकोट र रुकुमपश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानबिनका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको उनले जानकारी दिए ।

यही जेठ १० गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका¬–८ आउला बस्ने वीरबहादुर मल्लकी छोरी १७ वर्षीया सुष्मालाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका–४ का मोहन विकका छोरा २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेको अवस्थामा झगडा भएको थियो । मन्त्री थापाका अनुसार युवतीलाई भगाई लाने क्रममा केटी पक्ष र केटा पक्षका आफन्तबीच झैझगडा हुँदा केटी पक्षकाले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए ।

मन्त्री थापाका अनुसार मृतक नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ स्थित भेरी नदीको बीच भागमा फेला परेको, रुकुम पश्चिम चौरजहारी–१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते फेला परेको र जाजरकोट भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ ।

हालसम्म फेला नपरेकाको खोजी कार्य जारी रहेको छ । मन्त्री थापाका अनुसार भेरी नपा–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको खोजी कार्य जारी रहेको छ । बेपत्ताको खोजीका लागि आवश्यकताअनुसार गोताखोर समेत परिचालन गरिने उनको भनाइ छ ।

More News last news
Loading...