काठमाडौं । फुललाई सौन्दर्यको प्रतीक मानिन्छ । यसलाई मन नपराउने सायदै कोही नहोलान् । त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ ।
त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । इसाको छैटौं सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय समेत बनेको छ ।
दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्रा्ष्ट्रियस्तरमा पूजनीय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख के को हो ? कसरी यतिका दिनसम्म बाँचिरहेको छ ? यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।
यसपालि भने सिरहाको लहान नगरपालिका पडरियास्थित सलहेश फुलबारीमा लाग्दै आएको ऐतिहासिक मेला यसबर्ष स्थगित गरिएको छ । देशभर लक डाउन जारी रहेका कारण बैशाख १ गते लाग्ने सलहेश फुलबारी मेलासँगै बैशाख २ गते लाग्ने पकडियागढ, मानिक दह, धमनी माई मेला र पतारी मेला तथा महोत्सवहरु पनि स्थगित गर्ने निर्णय भएको हो ।
प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
