प्रतिपक्षी काँग्रेसले भन्यो, ‘मजदुर वर्गका लागि आर्थिक प्याकेज घोषणा गर’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर वर्गका लागि आर्थिक प्याकेजको घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर ‘लकडाउन’मा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर वर्ग सबैभन्दा बढी प्रभावित हुने भन्दै उनीहरुका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका हुन् । त्यस्तै कम आय भएका कर्मचारी, श्रमिक तथा वेरोजगार युवा, तथा डेरा गरी बस्ने विद्यार्थीलाई राहत हुनेगरी योजना र कार्यक्रम तय गर्न पनि सभापति देउवाले सरकारलाई आग्रह गरे ।

Advertisement

‘लकडाउन’ले खुद्रादेखि ठूला व्यापारी सबैलाई असर गर्ने भएकाले २० लाख रुपैयाँसम्म ऋण लिएका व्यवसायीलाई कम्तीमा ३ महिनाको ब्याज मिनाहा गर्न आग्रह गरेका छन् । देउवाले पत्रपत्रिका बन्द हुने अवस्थामा पुगेको भन्दै सञ्चारमाध्यम र पत्रकारका लागि राहतको योजना बनाउन पनि आग्रह गरे ।

उनले कोरानाको संक्रमणको जाँच तथा उपचारका लागि स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीई, परीक्षण किट तथा उपचारका लागि आइसोलेसन शैय्या, भेण्टीलेटर लगायतको पर्याप्त व्यवस्था गर्न माग गरे । कोरोनाको जोखिम कम गर्न सरकारले गरेको लकडाउन पूर्ण रुपमा पालना गर्न पनि कांग्रेस सभापति देउवाको आग्रह छ ।

More News last news
Loading...