कोरोना भाइरसले बेलायतमा दोस्रो नेपालीको मृत्यु

काठमाडौं । बेलायतमा कोरोना भाइरसका कारण दोस्रो नेपालीको ज्यान गएको छ । लण्डनमा फेरि अर्का एक नेपालीको कोरोना (कोभिड१९) भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

गत सोमबार बिहान निधन भएका साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्याललाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । लण्डनमै रहेका मृतक अर्यालका नातेदार पदम कार्कीका अनुसार बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएको बताएका छन्।

Advertisement

यसअघि गतसाता लण्डनकै ह्यारोका ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ । दुई दशक भन्दा लामो समयदेखि लण्डनमा बस्दै आएका अर्याललाई यसअघि ब्लड प्रेसरबाहेक अन्य स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले बताएको छ।

केही दिनदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल पुर्याइएको थियो । स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो।

चितवन पुख्र्यौली घर भएका मृतक अर्याल श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरासहित लण्डनमा बस्दै आएका थिए । मृत्युअघिको क्षण परिवारलाई लाइभ भिडियोमा देखाइएको थियो । अर्यालको निधन हुनुअघिको अन्तिम क्षण उनकी श्रीमती र छोराछोरीले घरमै बसेर लाइभ भिडियोमा हेरेका हुन् ।

मृतक अर्यालको परिवार पनि अहिले घरमै आइसोलेसनमै रहेका कारण उनीहरुलाई आफन्त र साथीभाइले समेत भेट्न पाएका छैनन् । बेलायतमा अहिले संक्रमितको संख्या ९ हजार ५२९ रहेको छ । अहिलेसम्म यहाँ ४६५ जनाले ज्यान गुमाएका छन् । बाँकी ८ हजार ९२९ जनाको उपचार भइरहेको छ।

More News last news
Loading...