सबै सीमा नाका बन्द गर्न सरकारलाई नेकपाको सुझाव

काठमाडौँ — नेपाल र भारतका सीमा नाकामा आवतजावत बन्द गर्ने गरी भारतसँग वार्ता गर्न सत्तारुढ नेकपाको सचिवालय बैठकले सरकारलाई सुझाव दिएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सरकारलाई यस्तो सुझाव दिएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

Advertisement

विश्वभरी फैलिएको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै नेपाल-भारत सीमानाबाट आवातजावत बन्द गर्नेगरी भारत सरकारसँग संवाद गरेर निर्णय लिन सरकारलाई सुझाव दिइएको खनालले बताए। बैठकले सीमाबाट नेपाल भित्रिने अत्याअवश्यक सामानहरू चेकजाँच गरेरमात्रै ल्याउन पनि सरकारलाई सुझाव दिएको छ।

सरकारले मंगलबार नै भारतसँग सीमानाका बन्द गर्नेबारे भारत सरकारसँग पहल गरिसकेको सरकारका तर्फबाट जानकारी गराइएको एक नेताले जानकारी दिए। भारतमा कोरोनाको प्रकोप दिनदिनै बढिरहेको अवस्थामा नेपालले भारतसँगका खुला सीमा नाका बन्द गर्न चाहेको हो। भारतले भने थप छलफल र तयारी गरेर नेपाललाई निर्णय दिने जवाफ दिएको छ।

सचिवालय बैठकमा सबै नेताहरू मास्क लगाएर सहभागी भएका थिए। यसअघिका बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै बस्ने गरे पनि आजको बैठकमा अध्यक्ष दाहालसहित सबै नेता केही दूरी बनाएर बसेका थिए।

यस्तै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूलाई धन्यवाद दिने निर्णय गरेको छ।

कोरोना प्रकोपलाई मध्यनजर गर्दै नेपाल सरकारले प्रारम्भदेखि चाल्दै आएको कमदमा सन्तोष व्यक्त गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

सचिवालयकै आग्रहअनुसार बिहीबारदेखि हुने तय भएको एसईई र विश्वविद्यालयका सबै परीक्षा सरकारले स्थगित गर्ने निर्णय गरेको छ।

More News last news
Loading...