काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गएको छ । वाशिङ्टनमा उपचारको क्रममा रहेका एक जनाको ज्यान गएको अमेरिकी सरकारले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
कोरोनाको कारण एक जनाको ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरा रहेको तर खतरासँग लड्न अमेरिका तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चीन र इरानसँगको यात्रामा कडाइ गरेको अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ ।
यसैगरी कोरोनाका कारण अस्ट्रेलियामा एक जनाको ज्यान गएको छ । जापानमा क्वारेन्टाइनमा राखिएको डायमण्ड प्रिन्सेस पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ । कोरोनाबाट ज्यान गुमाएका ती पुरुषको परिचय भने खुलइएको छैन । ती पुरुषको पर्थमा रहेको सर चार्लेस गेर्डनर अस्पतालमा उपचारका क्रममा ज्यान गएको अधिकारीहरुले बताएका छन् ।
ती पुरुषलाई पत्नीसहित डार्विन क्वारेन्टाइन क्याम्पबाट अस्पताल लगिएको थियो । क्वारेन्टाइन क्याम्पबाट आइसोलेशनमा पुर्याइएपछि उनकी पत्नीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । मृतककी पत्नीको अहिले आइसोलेशनमा उपचार भइरहेको छ ।
चीनबाट फैलन सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ भने झण्डै तीन हजार जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
