काठमाडौ । बलात्कारको आरोप लागेर निवर्तमान सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि रित्त रहेको पदमा अग्नी सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अग्निप्रसाद सापकोटा विरूद्ध प्रतिपक्षी दलहरूले कुनै उम्मेदवारी दिएनन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकले सापकोटा सभामुखमा सर्वसम्मत भएको घोषणा गरेलगत्तै पूर्वसभामुख ओनसरी घर्ती लगायतले खादा लगाइदिएर बधाई दिएका छन् ।
लगत्तै सुवास नेम्वाङले सापकोटालाई भेटेर बधाई दिए । तर सापकोटाको नजर भने प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ खिचिएको थियो । त्यसबीचमा सत्तापक्षको बेञ्चको पहिलो लहरमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सापकोटालाई खादा लगाइए ।
अध्यक्ष प्रचण्डले शुभकामना दिएसँगै सापकोटाका वरिपरि सांसदहरू बधाई दिन जम्मा भैसकेका थिए । यो बीचमा सापकोटाले सांसदहरूलाई पर्खन आग्रह गर्दै प्रधानमन्त्री भएतिर दौडिए । प्रधानमन्त्री केपी शर्मा ओली सत्तापक्षकै अन्य सांसद र मन्त्रीहरूसँग कुरा गर्दै थिए ।
सापकोटाले दौडिएर गएर प्रधानमन्त्रीसँग हात मिलाए । प्रधानमन्त्री ओलीले सापकोटालाई बधाई दिए । सापकोटाले पनि सभामुखका रूपमा आफूलाई चयन गरेकोमा ओलीलाई धन्यवाद दिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
