राष्ट्रियसभा सदस्यमा गण्डकीबाट नेकपाका उम्मेदवार विजयी

रिजन नेपाल

पोखरा । राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विजयी भएका छन् । बिहीबार पोखरामा भएको चुनावमा नेकपाका नारायणकाजी श्रेष्ठ (अन्य समूह) र भगवती न्यौपाने (महिला समूह) तर्फ विजयी भएका छन् ।

Advertisement

नेकपा प्रवक्ता समेत रहेका श्रेष्ठ (अन्य समूहतर्फ) ले ३ हजार ४ सय ६२ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुन सफल भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मतभार प्राप्त गरे । अर्का राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १ सय ९८ मतभार प्राप्त गरे ।

उता, महिला समूहतर्फ भगवती न्यौपानेले ३ हजार ३ सय ६६ मतभार प्राप्त गर्दै विजयी हुन सफल भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेस उम्मेदवार बिमल गौचनले २ हजार ३ सय ४० मतभार प्राप्त गरेकी थिइन् ।

चुनावमा नेकपा, काँग्रेस र जनमोर्चाबाट २ पदका लागि ५ जनाको उम्मेदवारी परेको थियो । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म भएको मतदानमा १ सय ७० मतदातामध्ये १ सय ६८ जनाले मतदान गरेका थिए । चुनावमा गोरखा सिराञ्चोक गाउँपालिका उपाध्यक्ष रीता देवकोटा र मुस्ताङको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट उपस्थित भएनन् ।

गण्डकीबाट काँग्रेसका सुरेन्द्र पाण्डे र बृन्दा आले रानाको कार्यकाल सकिँदा चुनाव भएको हो ।

More News last news
Loading...