काठमाडौँ । यूएईमा नेपालीसहित अन्य विदेशी श्रमिक चढेको बस दुर्घटना हुँदा ३ जना नेपाली चेलीसहित ६ जनाको मृत्यु भएको छ ।
एमबीएम कम्पनीको कामदार बोकेको मिनिबस आबुधाबीमा बिहीबार बिहान साढे ५ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको सो बसमा सरफाइ मजदुरका रुपमा कार्यरत १८ नेपाली चेलीसहित, अफ्रिका, श्रीलङ्का लगायतका गरेर जम्मा २४ जना कामदार रहेका थिए ।
युएईस्थित नेपाली राजदूतावासका अनुसार उक्त दुर्घटनामा प्युठानकी भावना कुँवर, झापाकी कृष्णकुमारी अधिकारी, र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङले ज्यान गुमाएका छन् । दुर्घटनामा १४ जना घाइते भएका छन । घाइते भएका सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा गुरुङ र इलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी मकवानपुरकी रिता सिवाकोटी, झापाकी मुना राई, ललितपुरकी कमला नेपाली, दाङकी आशा घर्ती मगर र ठेगाना नखुलेकी सुजला विश्वकर्माको माफ्रक अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै अलरहा अस्पतालमा मकवानपुरकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ र सुनसरीकी वर्षा विश्वकर्माको उपचार भैरहेको दूतावासले जनाएको छ ।
अस्पतालका अनुसार उनीहरूमध्ये नुवाकोटकी सरिता तामाङको अवस्था गम्भिर छ । दुर्घटना भएको थाहा पाएपछि राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्की लगायत दूतावासका कर्मचारी विभिन्न अस्पतालमा पुगेर घाइतेको जानकारी लिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
