काठमाडौं । प्रदेश नम्बर ३ को नाम ‘बाग्मती’ राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले प्रदेश राजधानी भने अहिले रहेकै हेटौँडा कायम गर्न पनि निर्देशन दिने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीका विषयमा नेकपाकै सांसदहरु एकमत नहुँदा दुई वर्षदेखि निर्णय हुन सकेको थिएन । नेपाल मण्डल, नेवा ताम्सालिङ वा बाग्मती के नाम राख्ने भन्नेमै नेकपाका सांसदहरुबीच विवाद थियो । यस्तै राजधानीका विषयमा पनि उनीहरुभित्र काभ्रे, भक्तपुर, हेटौँडा कहाँ राख्ने भन्नेमा विवाद थियो ।
प्रदेश सांसदहरुबीच विवाद हुँदा नामाकरण र राजधानी तोक्न ढिलाइ भएपछि नेकपाको सचिवालय बैठकले प्रदेश सभा दल र प्रदेश कमिटीलाई आफूले गरेअनुसार निर्णय गर्न निर्देशन दिएको हो । प्रदेश नम्बर ३ को प्रदेश सभामा नेकपाको दुई तिहाइ बहुमत छ । आफ्नै पार्टीको दुई तिहाइको बहुमत रहेकाले नेकपाको सचिवालय बैठकले नाम र राजधानी टुङ्गो लगाउँदै त्यहीअनुसार निर्णय गर्न निर्देशन दिएको हो ।
नेकपाको सचिवालयले दिएको निर्देशनअनुसार अब प्रदेश सभाले निर्णय गरेपछि नाम र राजधानीले औपचारिकता पाउने छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुङ्गो लगाउन प्रदेश सभाबाट कठिन भएकाले पार्टीले नै निर्देशन दिनुपर्ने भन्दै अध्यक्षसामु प्रस्ताव राखेका थिए ।
मुख्यमन्त्रीकै आग्रह बमोजिम नेकपाले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउँदै त्यसैअनुसार आफ्ना सांसदलाई अघि बढ्न निर्देशन दिएको हो । सचिवालय बैठकमा सभामुख चयन र राष्ट्रिय सभा चुनावका विषयमा भने समय अभावका कारण कुनै छलफल हुन नसकेको नेकपाले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
