काठमाडौँ । नेपालका प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलबाट भारतको आन्तरिक राजनीतिबारे लेखिएको एउटा ट्वीट ‘लाइक’ र ‘रिट्वीट’ भएपछि शुक्रवार राति सामाजिक सञ्जालमा खैलाबैला मच्चियो।
उक्त ट्वीट भारतमा हिंसा चर्किँदै गर्दा विपक्षी कंग्रेस नेत्री सोनिया गान्धीले देशवासीलाई संयमित हुन आग्रह गरेको विषयमा केन्द्रित थियो।
त्यसको केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारले ट्विटरमै “पासवर्डको दुरुपयोग गरी यस्तो गरिएको हुन सक्ने आशङ्का” व्यक्त गरी “कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न” अनुरोध गरे। प्रधानमन्त्रीको खाताबाट उक्त ट्वीट मेटियो र लाइक पनि हटाइयो। तर सामाजिक सञ्जालमा त्यसबारे चर्चा चलिरहेको छ।
कसले चलाउँछ प्रधानमन्त्रीको ट्विटर ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक कार्यक्रम तथा भेटघाटमा ट्विटरको चर्चा गर्दै आफैँ ट्विटर चलाउने सङ्केत गर्ने गरेका छन्। ट्विटरमा उनको निजी खाता पनि छ।
केही साताअघि अपेन्डिसाइटिसको शल्यक्रिया गरेको दुई दिनपछि अस्पतालको शय्याबाटै उनले ट्वीट गरेर आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको भन्दै स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका थिए।
Sonia Gandhi doing what Modi should have done by now: addressing the nation in a calm voice. pic.twitter.com/TejlwqoAqd
— Shivam Vij (@DilliDurAst) December 20, 2019
तर शुक्रवारको घटना नेपालका प्रधानमन्त्रीको आधिकारिक खाताबाट भएको हो। उक्त खाता प्रधानमन्त्रीका सहयोगीहरूले चलाउने विश्वास गरिन्छ। आखिर कसले चलाउँछ त प्रधानमन्त्रीको ट्विटर?
प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले शनिवार मध्याह्न बीबीसी न्यूज नेपालीसँग भने, “त्यो गोप्य रहन्छ।”
“हाम्रो टोलीले त्यो कसरी दुरुपयोग हुन गयो भनेर छानबिन गरिरहेको छ। तर अहिलेसम्म थाहा हुन सकेको छैन,” नेकपाको स्थायी समितिको बैठकस्थल धुम्बाराहीमा रहेका उनले शनिवार मध्याह्न बीबीसी न्यूज नेपालीलाई बताए।
प्रधानमन्त्री कहिलेदेखि ट्विटरमा ?
सुशील कोइराला प्रधानमन्त्री हुँदा सन् २०१५ मा पहिलो पटक नेपालका प्रधानमन्त्रीका लागि टि्वटरमा खाता खोलिएको थियो। कोइरालाका तत्कालीन प्रेस सल्लाहकार तथा पत्रकार प्रतीक प्रधान भन्छन्, “प्रधानमन्त्रीको आधिकारिक प्रयोगका लागि @PM_Nepal खोलिएको हो। त्यही खातापछि अन्य प्रधानमन्त्रीलाई हस्तान्तरण हुँदै आएको हो।”
“प्रधानमन्त्रीका तर्फबाट म उक्त खाता चलाउँथेँ र सामाजिक सञ्जालमा उठेका विषयबारे बेलाबेलामा म उहाँलाई जानकारी दिइराख्थेँ,” उनले बीबीबी न्यूज नेपालीलाई बताए, “त्यति बेला ट्विटर अरूलाई चलाउन दिइएको थिएन।”
कोइरालापछि ओली प्रधानमन्त्री बन्दा उनको सञ्चार टोलीलाई उक्त खाता हस्तान्तरण गरियो। ओलीपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड र उनका उत्तराधिकारी शेरबहादुर देउवाले पनि त्यही खाता प्रयोग गरे।
के थियो प्रधानमन्त्रीले रिट्वीट गरेको सन्देशमा ?
शिवम विज नाम गरेका एक भारतीय पत्रकारले शुक्रवार सन्देश लेख्दै भारतमा हिंसा चर्किएको बेला “देशवासीलाई सम्बोधन गर्ने विपक्षी दल कंग्रेसकी नेत्री सोनिया गान्धीको शान्त शैली”को प्रशंसा गर्दै त्यस्तो काम “बरु प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुपर्ने” सुझाव दिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
