काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबार (आज) देखि सुरु हुँदैछ । संसद सञ्चालनका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ।
सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौँ अधिवेशन यही पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ हुनेगरी गत मङ्सिर २५ गते आह्वान गरेकी थिइन्। पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभाध्यक्षले पढेर सुनाइनेछ ।
यसबीचमा गरिएका मन्त्रिपरिषद् पुनःगठनलगायत सरकारका महत्वपूर्ण कामबारेमा संसद्लाई जानकारी दिइनेछ भने सत्ता र प्रतिपक्षी दलका सांसद्ले सार्वजनिक महत्व र जनजीवनका सवालमा ध्यानाकर्षण गराउनेछन्। संसदीय प्रणालीमा जनताको आवाज सशक्तरुपमा राख्ने सार्वभौम थलोका रुपमा संसद्लाई लिइन्छ । संसद्को निर्देशन मान्नु कार्यपालिका .सरकार) को दायित्व हुनेछ ।
ससद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार अधिवेशन सञ्चालनका लागि बैठकको हलमा भौतिक मर्मत, सरसफाइ र व्यवस्थापनका काम पूरा भएको छ। डा पाण्डेले पहिलो दिनको कार्यसूचीलगायतका विषयमा छलफल गर्न अधिवेशन शुरु हुनुअघि शुक्रबार उपसभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्ने र सभामुखको निर्वाचनका विषयमा पनि सोही बैठकले कार्यतालिका तय गर्न सक्ने बताए ।
संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यव्यहारको आरोप लागेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले अनुसन्धानमा सघाउन आग्रह गरेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएका थिए। उनलाई हाल अदालतको आदेशबाट पूर्पक्षका लागि थुनामा राखिएपछि उनको सांसद् पदसमेत निलम्बनमा छ । प्रवक्ता पाण्डेका अनुसार अघिल्लो अधिवेशनमा पारित हुन बाँकी आठ विधेयक अहिले प्रारम्भिक अध्ययनका लागि सांसद्लाई दिइसकिएको छ ।
हाल विभिन्न संसदीय समितिमा १५ विधेयक विचाराधीन छन् भने केही नयाँ विधेयक दर्ता भएका छन् । संघीय संसद्को चौथो अधिवेशन २०७६ वैशाख १६ गते प्रारम्भ भई २०७६ असोज २ गते सम्पन्न भएको थियो । सो अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
